
२४ भदौ, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले अहिलेसम्म कक्षा ११ र १२ पढाउने शिक्षक दरवन्दी खोल्ने अथवा व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरुले विभिन्न मागहरु राखेर केही दिन यता आन्दोलन गर्दै आइरहेका छन् ।
उनीहरुले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टुन कार्य समितिहरुले सहकार्य गरी आ–आफ्नो क्षेत्रका सांसदलाई ज्ञापन पत्र बुझाउने, भदौ २८ गते साबिक उच्च मावि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधेर अध्यापन गर्ने, भदौ ३० गते साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन (कलम बन्द) गर्ने घोषणा गर्ने कार्यक्रम तय गरेका छन् ।
यी माथिका कार्यक्रमहरु सम्पन्न भएपछि केहिदिनमा संसद स्थगन हुने र दशैं तिहार पनि लाग्ने भएकोले त्यसपछि पनि समाधानका लागि कुनै पहलकदमी नभएको अवस्थामा काठमाडौंमा भेला भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
हिस्टुनको अनुसार अहिले देशभर साधारण दरबन्दी र अनुदानमा ६००० शिक्षक कक्षा ११ र १२ मा अध्यापनरत छन् ।
प्रतिक्रिया 4