
२६ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका स–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् ।
नेपालबार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले यस्तो बताएका हुन् ।
नेपालले खुला अर्थतन्त्रको नीति अjलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दीगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे ।
अर्थतन्त्रका स-साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता औल्याए ।
उनले अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको भन्दै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने बताए । अर्थतन्त्रसँग सम्बन्धित कानुनसँग जोडिएका शब्दको अर्थ भने अझै गम्भीर हुने उल्लेख गरे ।
कार्यक्रममा नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियान्ता पनि भएको बताए । ‘कानुन व्यवसायी भनेको अभियान्ता पनि हो, व्यवसायीले पैसा कमाउने ध्येय मात्रै राखेको पनि हुँदैन’ उनले भने, ‘उनीहरुको समाजप्रतिको दायित्व पनि हुन्छ ।’
कार्यक्रममा अध्यक्ष घिमिरेले देश, जनताको श्री वृद्धिमा बारले सक्ने हरेक क्षेत्रबाट सहयोग गर्ने बताए ।
कार्यक्रममा बारकी महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
८ दिने तालिममाबैंक तथा वित्तीय कानून, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडियासम्बन्धी कानुन, सार्वजनिक खरिद कानुन, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न वरिष्ठ अधिवक्ताले तालिम दिएका छन् ।
प्रतिक्रिया 4