
२८ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले वेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनमा जोड दिएका छन् ।
नेपाल भ्रमणमा रहेका लीले मंगलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई भेटेका थिए । संसद भवन, बानेश्वरमा भएको भेटमा लीले चीनले उच्चस्तरीय भ्रमणमा नेपाललाई उच्च प्राथमिकता राखेको बताएका छन् । नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका उनले दुई देशबीच भएको बीआरआई लगायतका सहमति कार्यान्वयनमा जोड दिएका छन् ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा नेपालले स्वतन्त्र पराष्ट्र नीति लिने विश्वास व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् । बीआरआई, यातायात तथा पारवपहन सम्झौता लगायतको कार्यान्वयनमा समेत आफूहरुले जोड दिएको एमाले नेता भट्टराईले बताए ।
उनले भने, ‘सीमा नाका खोल्ने निर्णय गर्नुभएको रहेछ, छिटो खोलिदिनुस् भनेका छौं ।’
प्रतिक्रिया 4