
काठमाडौं । फ्रान्सेली ‘न्यू वेभ सिनेमा’का पिता मानिने विश्व चर्चित निर्देशक जाँ लुक गोडार्डको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी निकट स्रोतलाई उद्धृत गर्दै गोडार्डको निधन भएको रोयटर्सले जनाएको छ ।
‘ब्रेथलेस’ एण्ड ‘कन्टेम्प्ट’जस्ता विश्वप्रशंसित फिल्म निर्देशन गरेका उनी संसारका महान् फिल्ममेकरमध्ये पर्छन् । गोडार्ड निर्देशित ती दुई फिल्मले सिनेमाको सीमालाई भत्काएन मात्रै सन् १९६० को दशकपछि पनि नयाँ पुस्ताका फिल्ममेकरलाई प्रेरित गर्यो ।
उनका फिल्मले सन् १९६० मा फ्रान्सेली सिनेमाका सबै स्थापित परम्परालाई तोडेका थिए । ह्यान्डहेल्ड क्यामेरा वर्क, जम्प कट्हरु र अस्तित्ववादी संवादसहित फिल्ममेकिङमा नयाँ शैलीको थालनी गरेको थियो ।
बाक्लो सीसावाल चस्मा र कालो-कालो कपालसहितका शब्दहरु गोडार्डका लागि फिल्मप्रेमीमाझ पर्याप्त छैनन् । उनी फिल्म निर्माणका एक क्रान्तिक्रारी योद्धा थिए, जसले सिनेमालाई चित्रकारिता र साहित्यका मानककै उचाइमा पुर्याउन सके ।
गोडार्डले एकपटक भनेका थिए, ‘तपाईंले चीजलाई कहाँबाट लिनुहुन्छ महत्वपूर्ण होइन, बरु तपाईंले चीजलाई कहाँ लैजानुहुन्छ, त्यो महत्वपूर्ण होे ।’ फिल्म बनाउनलाई एउटा बन्दुक र केटी मात्र भएपुग्छ भन्ने उनको फिल्म ब्रेथलेस संसारकै महानतम फिल्ममध्ये पर्छ ।
फ्रान्सेली र स्वीस परिवारमा सन् १९३० डिसेम्बर ३ मा गोडार्ड जन्मिएका थिए । फिल्म समीक्षकबाट फिल्ममेकर बनेका उनले ८० वर्षको उमेसर पुग्दासम्म पनि फिल्म बनाइरहेका थिए ।
प्रतिक्रिया 4