
२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सौदाबाजी गरेर मन्त्रिपरिषदमा भाग लिएको आरोप अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । तर चर्को विरोधपछि उनले दुई दिनपछि नै राजीनामा दिए । जबराको बयान लिइरहेको महाअभियोग सिफारिस समितिले मंगलबार मन्त्री नियुक्तिमा सौदाबाजी गरेको आरोपबारे जबरालाई सोधेको थियो ।
जवाफ दिने क्रममा जबराले यो प्रश्नलाई समावेश नगरेको भए राम्रो हुन्थ्यो भनेका छन् । तर अभियोगमा आइसकेकाले जवाफ दिने भन्दै उनले सञ्चार माध्यममा भागवण्डा खोजेको भनेर आएपछि आफूले वक्तव्य निकालेर खण्डन गरेको बताए ।
त्यसपछि पनि निरन्तर यो प्रश्न उठेपछि चर्चा गरिएका व्यक्तिलाई मन्त्री बनाउनु हुँदैन, नबनाइयोस् भनेर सम्बन्धित पदाधिकारीलाई आग्रह गरेको उनको दाबी छ । त्यसका बाबजुद मन्त्री नियुक्त भएको भन्दै उनले भनेका छन्, ‘यो प्रश्न नआएको भए हुन्थ्यो । धेरै कुरा खोल्दा राम्रो हुन्न ।’
मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएको र प्रधानमन्त्रीले कसैको दबाव, प्रभावमा मन्त्रिपरिषद् गठन गर्नुहुन्छ भन्ने कल्पना गर्न नसकिने उनले बताए । यसबारे प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले पनि बोलिसकेको भन्दै उनले भने, ‘प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई दबाव दिने भने हुन सक्दैन । यसमा कुनै सत्यता छैन ।’
प्रधानन्यायाधीशले दलहरुसँग सौदाबाजी गर्नुपर्ने कुनै कारण नभएको समेत उनले बताए ।
प्रतिक्रिया 4