
२८ भदौ, बुटवल । लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरुले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ कार्यान्वयन गर्न माग गरेका छन् ।
व्यवसायीहरुले मंगलबार लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्देशिका कार्यान्वयनको माग गरेका हुन् ।
निर्देशिकामा भारवाहन क्षमता भन्दा बढी भार बोक्ने सवारी साधनलाई जरिवाना गर्नुका साथै सामान झारेर सवारीधनीले नै त्यस्तो सामान भण्डारणको व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।
तर भारतीय मालबाहक ट्रकले नेपाली सडकको क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टनसम्म भारवाहन गरेका मालवाहक गाडी नेपाल भित्रिरहँदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपालभरि प्रवेशको स्वीकृति दिंदा नेपालका सडक र पुलमा असर पुगेको र नेपाली ट्रक व्यवसायीहरु ढुवानीको काम नपाएर संकटमा परेको नेपाल ट्रक यातायात व्यवसायी समिति लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
‘प्रहरी प्रधान कार्यालयको निर्देशन एक प्रशिशत पनि कार्यान्वयन भएको छैन’, पाण्डेले भने, ‘निर्देशिका कार्यान्वयनमा यस्तै रवैया रहे प्रदेशका ५ हजार बढी ट्रकका चाबी सरकारलाई बुझाएर आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’
नेपाल ट्रक यातायात व्यबसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्राफिक प्रहरीले आर्थिक प्रलोभनमा तौल पुल निर्देशिका कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाए ।
‘आर्थिक लाभका लागि निर्देशिका कार्यान्वयनमा ट्राफिक प्रहरीले बेवास्ता गरेको छ’, पोखरेलले भने, ‘सरकारी निकायको बेवास्ताले भारतीय ओभरलोड गाडीका कारण एकातिर नेपाली सडक र पुल भत्किंदै गएका छन् भने स्वदेशी व्यवसायीहरु काम नपाएर धराशायी हुने क्रममा छन् ।’
प्रतिक्रिया 4