२९ भदौ, काठमाडौं । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले आफूले अहिले सन्यास नलिने बताएका छन् । चोटसँग संघर्ष गर्दै आएका इब्राहिमोभिचले आफूले तत्काल सन्यास नलिने बताएका छन् ।
इब्राहिमोभिचले गत मेमा घुँडाको शल्यक्रिया गराएका थिए । जसले गर्दा उनी अहिले मैदान बाहिर छन् । इटालियन अनलाइन ला गजेट्टा डेलो स्पोर्ट्ससँगको कुराकानीमा उनले सन्यास नलिने बताएका छन् ।
‘म छिटै फर्किने छु । म सन्यास लिने छैन, म फिर्ता आउँदैछु, र म हार मान्ने छैन,’ इब्राहिमोभिचले भनेका छन् ।
गत सिजन एसी मिलानबाट इटालियन सिरी एको उपाधि जितेपछि उनले घुँडाको शल्यक्रिया गरेका थिए । चोटका बावजुत पनि मिलानले इब्राहिमोभिचसँग एक वर्षको सम्झौता नवीकरण गरेको थियो । उनी कहिले मैदान फर्कने एकिन नभएपनि आगामी वर्ष जनवरीमा खेलमा फर्कने सम्भावना छ ।
मिलानलाई ११ वर्षपछि लिग च्याम्पियन बनाउने क्रममा गत सिजन उनले २३ खेल खेलेका थिए भने ८ गोल गरेका थिए ।
सन् १९९९ मा स्वीडिस क्लब माल्मोबाट सिनियर क्लब करियर सुरु गरेका इब्राहिमोभिचको चार फरक दशकमा फुटबल खेलिसकेका छन् ।
उनका समकालीन खेलाडीहरु कोही खेल्न छाडिसने कोही प्रशिक्षक नै बनिसकेका छन् । तर उनी भने अझै उस्तै जोशका साथ व्यावसायिक फुटबल नै खेलिरहेका छन् ।
इब्राहिमोभिचले नेदरल्याण्ड्सको अयाक्स, इटलीको युभेन्ट्स, इन्टर र एसी मिलान, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस सेन्ट जर्मेन, इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेड र अमेरिकाको मेजर लिग सकरमा एलए ग्यालेक्सीबाट क्लब फुटबल खेलिसकेका छन् ।
उनले नेदरल्याण्ड्स, इटली, स्पेन र फ्रान्सको लिग जितेका छन् साथै इटलीको तीन फरक क्लबबाट इटालियन लिग सिरी ए जितेका छन् । स्वीडेनको सर्वाधिक गोलकर्ता इब्राहिमोभिचले १२१ खेल खेल्दै ६२ गोल गरेका छन् ।
प्रतिक्रिया 4