
२९ भदौ, काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’मा दलीय सहमति जुटाउन सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बैठक बसिरहेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीसहित विधेयकमा सहमति जुटाउन गठित कार्यदल सदस्यहरु छन् ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यो विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।
कार्यदललाई बुधबार नै दिउँसो ४ बजेसम्म सहमति जुटाउने जिम्मेवारी दिइएको थियो । कार्यदलले सहमति जुटाउन नसकेपछि सर्वदलीय बैठक बसेको हो ।
एमालेले द्वन्द्धकालीन मुद्दा हेर्नका लागि गठन गरिने विशेष अदालतको फैसलाउपर पुनरावेदन जान पाउनुपर्ने बताउँदै आएको थियो । यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरु तयार भएका छन् ।
तर, एमालेले भन्दै आएको द्वन्द्वकालका हत्याका घटनालाई गम्भीर मानव अधिकार उलंघनको घटनाभित्र समेट्नुपर्ने बताउँदै आएको छ । यो विषयमा वर्गीकरण गरेर जान सत्ता गठबन्धन तयार भएको बताइन्छ । वर्गीकरणमा एमाले तयार नहुँदा समस्या भएको नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4