+
+

प्युठान र बागलुङ-१ जनमोर्चालाई छुट्याइएपछि कांग्रेसमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते ६:४३

३० भदौ, काठमाडौं । सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ ।

जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति जनमोर्चालाई दुई सिट दिन तयार भएपछि बागलुङ १ पनि उक्त दलको भागमा परेको छ ।

बागलुङ १ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै प्रतिस्पर्धा गर्ने रुचि राखेपछि देउवा लचिलो बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘प्रधानमन्त्री चित्रबहादुर जीलाई प्रतिनिधि सभामा ल्याउने पक्षमै हुनुहुन्थ्यो’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्, ‘रामचन्द्र दाइले पनि दुई सिट जनमोर्चालाई दिन तयार हुनुभयो ।’

गठबन्धनका दलबीच प्रारम्भिक चरणको छलफलमा प्युठान मात्रै जनमोर्चाका लागि छुट्याइएको थियो । तथापि, उक्त दलको दाबी दुई सिटमा रहँदै आएको थियो ।

जनमोर्चा अध्यक्ष केसीलाई राष्ट्रिय सभामा ल्याउने गरी चर्चा पनि भएको थियो । सत्तारुढ दलमा भइरहेको छलफलमा केसीले प्रत्यक्षमा उठ्ने इच्छालाई दोहोर्‍याइरहे पछि उनका लागि पनि सिट छुट्याइएको हो ।

प्युठान र बागलुङ १ जनमोर्चालाई छुट्याइएसँगै कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । प्युठानका कांग्रेस नेताहरूले जनमोर्चालाई जिताउन कठिन हुने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको आधारमा प्युठानमा जनमोर्चा चौथो स्थानमा छ । जनमोर्चाले स्थानीय तहको निर्वाचनमा प्युठान वडाको मतमा १३ हजार ६१२ प्राप्त गरेको थियो ।

जनमोर्चाका लागि कांग्रेस, माओवादी केन्द्र र समाजवादीको मत ट्रान्सफर गराउन कठिन हुने कांग्रेस जिल्ला सभापति विष्णुकुमार गिरी बताउँछन् । दोस्रो शक्ति रहेको कांग्रेसका उम्मेदवार भए जीत निकाल्न सहज हुने गिरी दाबी गर्छन् ।

स्थानीय तहको निर्वाचनमा प्युठानमा एमाले ३९ हजार ८७७ मत ल्याई पहिलो दल बनेको छ । यद्यपि, एमालेले दुई पालिका मात्रै जितेको थियो । ६४ मध्ये २७ वटा वडामा मात्रै कांग्रेसका उम्मेदवार भएकाले एमालेको मत कम मत कांग्रेसको देखिएको जिल्ला सभापति गिरी बताउँछन् । उनले भने,’६४ वडामा नै कांग्रेस उम्मेदवार भएको भए एमालेको भन्दा हाम्रो मत कम हुने थिएन ।’ जिल्लाभरमा दोस्रो स्थानको मत पाएको कांग्रेसको पक्षमा २१ हजार ५६४ मत खसेको छ ।

तेस्रो शक्ति रहेको माओवादी केन्द्रको १७ हजार १६३ र पाँचौ स्थानमा एकीकृत समाजवादीले १ हजार ४१७ मत पाएको थियो ।

स्थानीय तहमा गठबन्धनका उम्मेदवारले सात र एमालेले दुईटा पालिकामा जित निकालेका थिए । कांग्रेसले ऐरावती,गौमुखी कांग्रेस र स्वर्गद्धारी जितेको छ । माओवादी केन्द्रले प्युठान, झिम्रुक र माण्डवीमा जित निकाल्यो । मल्लरानीमा जनमोर्चा विजयी हुँदा एमाले नौबहिनी र सरुमारानीमा निर्वाचित भएको थियो ।

प्युठानमा जनमोर्चाले उठाउन लागेकी दुर्गा पौडेल गत निर्वाचनमा निर्वाचित भएकी थिइन् । पौडेल एकपटक समानुपातिक सांसद समेत भइसकेकी छन् ।

दुईपटक सांसद हुँदासमेत उनले जिल्लामा उल्लेखनीय कार्य गर्न नसक्दा जिताउन कठिन हुने कांग्रेसको बुझाइ छ । ‘प्युठानमा कम्युनिष्टहरुले जित्दै आएका हुन् । कम्युनिष्टले जित्दा आफ्नो अवस्थामा परिवर्तन नआएको जनताको बुझाइ छ,’ कांग्रेस जिल्ला सभापति गिरीले भने ।

गठबन्धनका कारण कांग्रेसलाई प्युठानमा अर्को वाध्यता आएको छ । अघिल्लो निर्वाचनमा जुन उम्मेदवारले कांग्रेसलाई हराएकी थिइन् । उनैलाई जिताउनका लागि कांग्रेसका नेता कार्यकर्ता खटिनुपर्ने भएको छ ।

तालमेलका कारण जिल्लामा कांग्रेस कार्यकर्ता निराश रहेको जिल्ला तहका एक नेता बताउँछन् । ‘दुर्गा पौडेलले २०७४ सालमा हाम्रो उम्मेदवार गोविन्द पोखरेललाई हराउनुभएको थियो । अहिले उनै दुर्गालाई जिताउन भन्दै गोविन्द जी हिड्न मिल्छ ?’ जिल्ला तहका एक नेता भन्छन् ।

वाम गठबन्धनको तर्फबाट पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा कांग्रेसका उम्मेदवार पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पार्टीले प्राप्त गरेको समानुपातिक मतभन्दा पोखरेलले प्रत्यक्षतर्फ पाएको मत बढी थियो ।

बागलुङमा पनि उस्तै चिन्ता

गठबन्धनका दलहरु वीच भएको प्रारम्भिक सहमति कार्यान्वयन भए प्रतिनिधि सभातर्फ कांग्रेसले बागलुङमा दुबै क्षेत्र पाउँदैन ।

बागलुङ १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले पाउने गरी सहमति निकट गठबन्धन पुगेको छ । अघिल्लोपटक माओवादी केन्द्रले जितेको आधारमा बागलुङ २ छोड्न स्थानीय कांग्रेसका नेता कार्यकर्ता तयार छन् । तर, क्षेत्र नम्बर १ पनि अर्को दललाई सुम्पिदा कांग्रेसमा नैराश्यता छ । बागलुङ १ मा अघिल्लोपटक एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिनिधि सभातर्फ एउटा कांग्रेसको भागमा पर्नुपर्ने जिल्ला सचिव हरिहर शर्मा बताउँछन् । ‘प्रतिनिधि सभातर्फ एउटा क्षेत्र हामीले पाउनुपर्छ । तालमेलको बाध्यताले पाउन सकिएन भने बागलुङ १ का दुवै प्रदेश सभाका उम्मेदवार कांग्रेसका हुनुपर्छ’ जिल्ला सभापति शर्माले भने,’कांग्रेसका लागि सम्मानजनक भागवण्डा नभए भोट क्रस गराउन सकिँदैन ।’

स्थानीय तहको आधारमा बागलुङ १ मा जनमोर्चा चौथो शक्ति बनेको छ । यस क्षेत्रमा स्थानीय तहमा एमालेले २१ हजार ९७८ मत, कांग्रेस १९ हजार ५१३ , जनमोर्चा ६ हजार ६७ , स्वतन्त्रले ४ हजार ८२ मत पाएका छन् । माओवादीले पाँचौ स्थानमा २ हजार ५२९ मत र एकीकृत समाजवादीले २ हजार ४५१ मत ल्याएको छ । स्थानीय तहमा सत्ताघटक दलमा तालमेल भएको थियो ।

बागलुङ र जैमुनी नगरपालिका तथा काँठेखोला र बरेङ गाउँपालिका बागलुङको क्षेत्र नम्बर १ मा पर्दछन् । तालमेलबाट यी चारै तहमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । गठबन्धनको बलमा जनमोर्चाका उम्मेदवारले जैमुनी र वरेङ जितेका थिए ।

२०७४ मा बागलुङ १ मा वामगठबन्धनबाट एमालेका सूर्य पाठक निर्वाचित भएका थिए । उनले ३३ हजार ६५७ मत ल्याउँदा कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले २० हजार ६१६ मत ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?