
३० भदौ, दमौली । गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा गरेका विश्व बास्तोलाले तनहुँ १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आफू अहिले कुनै दलमा नभएकाले स्वतन्त्र उम्मेदवारी दिने उनले बताएका छन् ।
तनहुँ १ बाटै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् । कुनै बेला पौडेल निकट रहेका बास्तोलाले पौडेल विरुद्ध नै उम्मेदवारीको घोषणा गरेका हुन् ।
यथास्थितिवादका विरुद्ध र परिवर्तनको पक्षमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बास्तोलाले बताए । उनले भने, ‘नयाँ बोतलमा पुरानै रक्सी सजाउनु जस्तै भयो । अब परिवर्तन हामीबाट नै सुरु गर्ने हो ।’
पार्टीको प्रदेश समितिले व्यास नगरपालिकाको मेयर उम्मेदवारमा आफूलाई सिफारिस गरे पनि पौडेलले तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाएको भन्दै बास्तोलाले कांग्रेस त्यागेको घोषणा गरेका थिए ।
क्षेत्र नं. १ मा यसअघि नै प्रविन पौडेल र पृथ्वीनारायण श्रेष्ठले स्वतन्त्र उम्मेदवारी घोषण गरिसकेका छन् ।
प्रतिक्रिया 4