
काठमाडौं । दशैं किनमेलको सिजन पनि हो । यसै छेकोमा कतिपयले घरायसी सरसामान जोड्ने गर्छन् । त्यसो त यस्ता सामानका उत्पादकहरुले दशैं–तिहार जस्तो पर्वको अवसरमा विभिन्न छुट अफर ल्याउने गर्छन् । जस्तो कि, वासिङ मेसिन ।
लुगाफाटो धुने, निचोर्ने र सुकाउने सम्पूर्ण काम अब वासिङ मेसिनले गर्छ । बजारमा अनेकथरी वासिङ मेसिन पाइन्छन् । ब्रान्ड, क्षमता, सुविधा अनुरुप यसको मूल्यमा पनि विविधता हुन्छ । बजारमा उपलब्ध वासिङ मेसिनको मूल्य के–कति पर्छ ? कति क्षमताको पाइन्छन् ? ग्यारेन्टी वा छुट सुविधा के छन् ?
सामसुङ वासिङ मेसिन
नेपाली बजारमा लगभग आधा दर्जन बढी ब्रान्डका वासिङ मेसिन पाइन्छ । तर सामसुङको वासिङ मेसिन सबैभन्दा धेरै रुचाइने कम्पनीभित्र पर्छ । बजारमा हरेक प्रकारका सामसुङ वासिङ मेसिन पाउन सकिन्छ । ठिक्क मूल्यमा राम्रो वासिङ मेसिन खरिद गर्न चाहनेका लागि यो राम्रो विकल्प हो ।
कम्पनीमा टप लोड मेसिन, फ्रन्ट लोड, सेमी अटोमेटिक, फुल अटोमेटिक टप लोड मेसिन र फुल्ली अटोमेटिक फ्रन्ट लोड मेसिन पाइन्छ ।
बजारमा सामसुङका वासिङ मेसिन ७ केजीदेखि १२ केजीसम्म क्षमताका छन् । कम ऊर्जा खपत गर्ने, कडा दाग हटाउने, लामो समय टिक्ने, छोटो समयमा धेरै लुगा धुन सकिने र ८० प्रतिशतदेखि शतप्रतिशतसम्म लुगा सुकाउन सक्ने यसको विशेषता हो ।
सामसुङ वासिङ मेसिनको टप फोल्डिङको मूल्य ५५ हजार ९९० सय रुपैयाँ पर्छ । ८ केजीको ९३ हजारदेखि १ लाख २७ हजार रुपैयाँसम्म पर्छ । ९ केजीको १ लाख १४ हजार र १२ केजीको १ लाख ६० हजारदेखि १ लाख ६५ हजार रुपैयाँ पर्छ ।
सामसुङले मेसिनमा १ वर्षको वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी दिन्छ ।
वर्लपुल वासिङ मेसिन
बजारमा वर्लपुलको ७ केजीदेखि साढे १४ केजीसम्म क्षमता भएको वासिङ मेसिन उपलब्ध छन् । फ्रन्ट फोल्डिङमा ८ देखि साढे १० केजी र टप फोल्डिङमा ७ देखि १२ केजी क्षमतामा उपलब्ध छ ।
वर्लपुलको वासिङ मेसिनले कम ऊर्जा खपत गर्ने, कडा दाग हटाउने, लामो समय टिक्ने, छोटो समयमा धेरै लुगा धुन सकिने र स्किन ड्रायर लगायत विशेषता छन् । टप फोल्डिङ वर्लपुल वासिङ मेसिनको मूल्य ४१ हजारदेखि ७० हजारसम्म पर्छ । फ्रन्ट फोल्डिङको ७४ हजारदेखि १ लाख ३ हजार रुपैयाँसम्म पर्छ ।
वर्लपुलले वासिङ मेसिनमा सर्भिस वारेन्टी २ वर्ष र मोटर वारेन्टी १० वर्ष उपलब्ध गराउँछ । वर्लपुलले अहिले दशैंको अवसर पारेर मेसिनको खरिदमा विभिन्न अफर तथा उपहारको पनि व्यवस्था गरेको छ ।
एलजी वासिङ मेसिन
एलजी वासिङ मेसिन फ्रन्ड लोडिङ ७ केजीदेखि १९ केजीसम्ममा बजारमा उपलब्ध छ । एलजीको टप, फ्रन्ट र सेमी अटोमेटिक गरेर तीन प्रकारको मेसिन पाइन्छ । एलजीको ८ केजीमाथिका मेसिनमा सेन्सर प्रयोग गरिएको छ । फिक्स मोसन, ८० प्रतिशत र शतप्रतिशत ड्रायर लगायतका फिचर छन् ।
८ केजीको सेतो कलरको मेसिनको १ लाख २ हजार पर्छ भने खरानी कलरको १ लाख १० हजार ८९० रुपैयाँ पर्छ । तर एलजी नेपालले अहिले दशैं अफर अन्तर्गत बेस्ट बायर अफर पनि ल्याएको छ, जसमा १ लाख २ हजार पर्ने ८ केजीको मेसिनको ८७ हजार ६९० मा पाइन्छ भने १ लाख १० हजार पर्नेको ९५ हजार २९० रुपैयाँमा पाइन्छ । ८ केजीको मेसिनको खरिदमा ६ केजीको एरिएल सर्फ पनि फ्रीमा पाइन्छ ।
खरानी कलरको ९ केजीको मेसिनको १ लाख १९ हजार रुपैयाँ पर्छ । दशैं अफरमा भने १ लाख २ हजार रुपैयाँमा नै पाइन्छ । सेतो कलरमा १ लाख १० हजार रुपैयाँ अफरमा ९४ हजार ८ सयमा पाइन्छ । ९ केजीको मेसिनको खरिदमा एउटा इन्डक्सन वा फ्यान हिटर उपहार पाइन्छ ।
साढे १० केजीको मेसिनको १ लाख ६८ हजार रुपैयाँ पर्छ भने अहिले दशैं अफरले १ लाख ४५ हजार ९० मा नै पाउन सकिन्छ । यसमा पनि इन्डक्सन चुलो वा फ्यान हिटर उपहार पाइन्छ ।
यस्तै १९ केजीको मेसिनको बजार मूल्य २ लाख ६५ हजार ५०० छ, दशैं अफरमा २ लाख १९ हजार ९ सयमा पाइन्छ । १९ केजीमा इन्डक्सन चुलो वा फ्यान हिटर उपहार पनि पाइन्छ ।
मोटरमा १० वर्षको वारेन्टी र पूरा मेसिनमा १ वर्षको वारेन्टीको व्यवस्था एलजीले गरेको छ ।
यसुदा वासिङ मेसिन
नेपाली बजारमा यसुदाको वासिङ मेसिन पनि विभिन्न डिजाइन र क्षमतामा उपलब्ध छ । ७ केजीदेखि १० केजीसम्म क्षमता भएको मेसिन पाइन्छ ।
७ केजी क्षमता यसुदा वासिङ मेसिनको २२ हजार ९०० रुपैयाँ, ८ केजीको २६ हजार ८ सय, ८.५ केजी ७२ हजार र १० केजीको ७२ हजार ७ सय रुपैयाँसम्म पर्छ ।
यसुदाको वासिङ मेसिनले कम ऊर्जा खपत गर्ने, कडा दाग हटाउने, लामो समय टिक्ने, छोटो समयमा धेरै लुगा धुन सकिने र स्किन ड्रायर लगायत यसको विशेषता छ । कम्पनीले मेसिनमा १ वर्षको वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी पाइन्छ ।
प्यानसोनिक वासिङ मेसिन
प्यानसोनिकको वासिङ मेसिन पनि धेरै नेपालीको रोजाइमा पर्ने मेसिन हो । ७ केजी, ७.५ केजी र ८ केजीको वासिङ मेसिन बजारमा उपलब्ध छन् ।
टप लोडिङ र फन्ट लोडिङ दुई प्रकारको मेसिन प्यानसमेनिकले बजारमा ल्याएको छ । ७ केजीको टप लोडिङ मोसिनको मूल्य ३९ हजार, ७.५ केजी टप लोडिङको ४४ हजार ९०० रुपैयाँ पर्छ ।
त्यस्तै ७ केजी फ्रन्ट लोडिङ मेसिनको ६७ हजार ७ सय र ८ केजीको फ्रन्ट लोडिङ मेसिनको ५० हजार ९०० रुपैयाँ पर्छ । मेसिनमा लुगा ड्राइ हुने, कडा खालको दाग पनि सफा गर्ने, छोटो समयमा धेरै लुगा धुने र थोरै पानीले धेरै लुगा धुन सकिने यसका विशेषता हुन् । कम्पनीले मोटरमा १० वर्ष र मेसिनमा १ वर्षको वारेन्टी दिन्छ ।
टप, फ्रन्ट र सेमी अटोमेटिक र फुल अटोमेटिक मेसिनमा के छ फरक ?
टप लोड हुने वासिङ मेसिनमा माथिबाट कपडा लोड हुन्छन् । यस्तो वासिङ मेसिनले कम ठाउँ ओगट्छ । फ्रन्ट लोडिङ मेसिनमा अगाडिको खुल्ला भागबाट लुगा र पानी लोड गरिन्छ । यसले पानी र विद्युत कम खपत गर्छ । फ्रन्ट लोडिङ मेसिनले एक राउन्डमा लुगा धुने र लुगालाई मेसिनमा नै सुकाउने काम गर्छ ।
सेमी अटोमेटिक वासिङ मेसिनले एकै पटक लुगा धुने र सुकाउने काम गर्दैन, लुगा धुन र सुकाउन म्यानुअल सेट अप गर्नुपर्छ । यसमा दुईवटा टब हुन्छन् । लुगा सुकाउन धोएको कपडालाई एउटा टबबाट अर्को टबमा सार्नुपर्छ ।
सेमी अटोमेटिक वासिङ मेसिनभन्दा फुल अटोमेटिक फरक छ । फुल अटोमेटिक मेसिन पूर्ण रूपमा स्वचालित हुन्छ र एक क्लिक गर्ने बित्तिकै सबै काम आफैं गर्छ । यसमा एउटा मात्र टब हुन्छ, जसले धुने र कपडा सुकाउने काम गर्छ ।
वासिङ मेसिन किन्दा ध्यान दिनुपर्ने कुरा
वासिङ मेसिन किन्दा परिवारको आकार अनुसार मेसिन किन्नुपर्छ । एकपटकमा कति केजीसम्म धुने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । साथै लुगा धुँदा मेसिनबाट के–कस्तो आवाज तथा भाइब्रेसन आउँछ भन्नेमा ध्यान दिनुपर्छ । बत्तीको खपत कति हुन्छ ? पानीको खपत कति गर्छ ? र, लुगा धुन कति समय लाग्छ ? यसबारे राम्रोसँग जानकारी लिनुपर्छ । कपडा धोएर निकाल्दा कति सुकेको हुन्छ भन्ने विषयमा पनि ध्यान पुर्याउनुपर्छ ।
प्रतिक्रिया 4