
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको जनाएको छ ।
२०७८ साउनको तुलनामा रेमिट्यान्स बढेको भएपनि गत महिनाको तुलनामा भने साउनमा रेमिट्यान्स घटेको छ । २०७८ असारमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स प्राप्त भएकोमा साउनमा करिब ११ अर्बले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यस्तै अमेरीकी डलरमा २०७८ साउनको तुलनामा २०७९ साउनमा रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने पनि बढे
२०७८ साउनको तुलनमा २०७९ मा वैदेशिक रोजगारीका लागि जाने नेपालकीको संख्या पनि बढेको छ ।
२०७९ साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4