+
+
यात्रा :

लेगुवा झरना हुँदै अरुणको तीरैतीरै …

थकित मुद्रामा पुगेका सबै जनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो।

सुरज कोइराला सुरज कोइराला
२०७९ असोज १ गते १८:०५

पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन्। यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन्। जीवनको सुरुवातदेखि नै तराई बसेकाको लागि यहाँको दृश्य हरेक दिन अलौकिक हुन्छन्।

जीवन जिउने कार्यमा पेशाको सिलसिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबास भइरहेको छ। करिब दुई वर्षको बसाइ यस जिल्लामा रहने निश्चित जस्तै नै रहेको छ। यही अवसरमा केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो।

यात्राको सुनिश्चितता भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सरसामान तयार गरियो। भोलिपल्ट बिहान ७ बजे सबैजना आ—आफ्नो झोला बोकी गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गरियो।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरु जिल्ला जस्तो कहाँ सहज छ र ! यहाँको सडक असार साउनमा धान रोप्न ठिक्क पारे जस्तो हिलाम्मे छन्। म्याङलुङदेखि जिरीखिम्तीसम्मको करिब १० किमीको दूरी पार गर्न हम्मेहम्मे नै पर्‍यो। जिरीखिम्ती बजारदेखि बसन्तपुरसम्म चैं सडक कालोपत्रे भएको रहेछ। यहाँको दृश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल बसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम एकछिनलाई विश्राम लिइयो।

यहाँ हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामिनसक्नु हुन्छ। एकछिनको चिया खाजापछि बसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लागियो।

बसन्तपुर बजारभन्दा अलि अघि गएपछि उतरतर्फबाट उन्नति नामक आयोजनाले निर्माण गरेको सडकको ट्रयाकबाट लेगुवा धनकुटातर्फ लागियो। बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिचोल्दै करिब डेढ घण्टाको कच्ची बाटोको यात्रा तय गरियो।  स्थानीय तथा पथप्रदर्शक मित्रको घरमा गाडी रोकी त्यहाँबाट पैदल लेगुवा झरनातर्फ लागियो। यस स्थानको स्थानीय बासिन्दा भएको कारण उक्त झरनाको बारेमा जानकारी लिंदै बाटोमा भएको हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ अघि बढिरह्यौं।

गुमनाम जस्तै रहेको यो झरनामा आजकल फाट्टफुट्ट व्यक्तिहरू अवलोकन गर्न आउने रहेछन्। हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमि आएको रहेछ। झरनाको बारेमा जानकारी लिंदै करिब एक घण्टाको उकालीओरालीपछि झरना स्थल आइपुगियो।

थकित मुद्रामा पुगेका सबैजनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो। अप्ठ्यारो ठाउँ भएकोले झरनाको मुनि नै पुग्न नसकिए पनि सिंचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो।

यात्राका गन्तव्य अरु स्थान पनि भएकाले झरनालाई त्यहीं बिदा मागी पुनः स्थानीय पथप्रदर्शक सँगै उहाँको घरमा बिहानको खाना खाएर उहाँको आतिथ्यको हार्दिक आभार प्रकट गर्दै त्यहाँबाट बिदा भइयो। बसन्तपुरदेखि आएको बाटो जस्तै करिब अरु १ घण्टाको उस्तै यात्रा गरी लेगुवा घाट पुगियो। लेगुवा घाट जहाँबाट धनकुटा, भोजपुर र संखुवासभा तीन जिल्ला जाने बाटो छुट्टिन्छ। प्रदेशका प्रभावशाली व्यक्तिहरूको जिल्ला भएको कारणले पनि त्यहाँको बाटो कालोपत्रे भएको रहेछ। लेगुवा घाटको उत्तरतर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गरेपछि त्यहाँको खोलाको ताजा माछा खाने विचार गरियो। एउटा पसलमा गएर गाडी रोकियो।

त्यहाँ साँच्चिकै स्थानीय माछा पाइने रहेछ। माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो।

केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं। हाम्रो यात्राको उद्देश्य अलिक पर रहेकोले तुम्लिङटार बजार नघुमी सीधै गन्तव्यतर्फ अघि बढियो। बजारबाट करिब ३ किमी जति पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो। तर दिउँसो माछा मासु सेवन गरेको कारण भोलिपल्ट बिहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदीको किनारै किनार अघि बढियो।

अरुण नदीले वारि संखुवासभा र पारि भोजपुर छुट्याएको रहेछ। हाम्रो गन्तव्यस्थल खोला पारि भोजपुर जिल्लामा अवस्थित रहेको र पारि जान झोलुङ्गे पुल मात्र भएकोले गाडीलाई वारि नै राखी नदीलाई नमन गर्दै पारि रहेको मकालु इको रिसोर्टतर्फ लागियो। यात्राको निर्णयसँगै अघिल्लो दिन नै कोठा बुक गरेकाले बास नपाइने हो कि भन्ने चिन्ताबाट मुक्त भइएको थियो।

दिनभरि यात्राबाट भएको थकानसँगै झोला कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भइयो। कल कल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाउँ वास्तवमै अति सुन्दर थियो। प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा सहरी सुविधायुक्त रिसोर्टको बसाइ अविश्वसनीय थियो।

केही समय अरुण नदीसँगै किनारमा सुस्ताएर फेरि रिसोर्ट भित्र नै रमाइलो गर्ने निर्णय भयो। दिउँसो सभा खोलाको माछाको तृप्ति नभए पनि पेटले खाजाको माग गरेसँगै स्वीमिङ पुलको मज्जा लिंदै खाजा खानेतर्फ लागियो।

केहीबेर स्वीमिङ पुलमा रमाइयो। रातिको खाना खाएर आ–आफ्नो कोठामा गई आराम गरियो। पहाडको चिसो वातावरणबाट विश्राम लिई न्यानो तथा तराईको कोलाहलबाट शान्त र हरियालीको आनन्द लिन दुवै क्षेत्रका लागि उपयुक्त स्थान भएको ठम्याई साथ भोलिको यात्राका लागि आज थकाइ मार्न ओछ्यानमा पल्टियौं।

बिहानीको समयमा तातो चियाको चुस्कीसँगै नयाँ यात्रा सुरुवात गरियो। हिजो गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो। न्यानो सत्कार साथै प्रकृतिको सुन्दरतालाई नियाल्ने मौका दिएकोमा रिसोर्टलाई धन्यवाद दिंदै पुनः आउने वाचा गरी अरुण नदीलाई फेरि पनि नमन गरी मनकामनातर्फ अघि बढियो।

प्राचीन किंवदन्ती अनुसार सतीदेवीको अंग पतन भएको स्थान मानिन्छ। उक्त स्थानलाई सतीघाट समेत भनिन्छ। यहाँ हरकोहीले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात रहेको छ। केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ अघि बढाइयो।

करिब १२ किमिको यात्रापछि बजार क्षेत्र प्रवेश गरियो। लसुन प्याज तथा छाते सक्खरको लागि खाँदबारी बजार प्रसिद्ध रहेछ। संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकोले हाट हेर्ने अवसर समेत प्राप्त भयो। कोसेली स्वरूप छाते सख्खर खरिद गरी बिहानी खाना खाई यात्रालाई म्याङलुङतर्फ मोडियो।

हामीसँग दुईवटा विकल्प थियो, पुनः त्यही बाटो फर्किने वा नयाँ रुट प्रयोग गर्ने। सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि लागियो। नयाँ बाटो प्रयोग गर्दा यात्राको दूरी पनि केही कम रहेछ। दूरी कम हुनासाथ बाटोको उचाइ भने निकै उकालियो। धनकुटाको चानुवा हुँदै डाँडागाउँ करिब ९ किमि जति ठाडो उकालो लागेपछि बाटो केही समथर भयो। कालोपत्रे चैं समाप्त भई बिग्रिएको ट्रयाकमा फेला परियो।

लगभग पौने घण्टाको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुगियो र त्यहाँ रहेको यलम्बर पार्क घुम्न गाडी रोकियो। बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका बासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो। एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गन्तव्यतर्फ लागियो।

अघिल्लो दिनको यात्राको सुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुणको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिंदै बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आई पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोटसहित विश्राम गरियो।

(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन तेह्रथुममा अधिकृत स्तर छैटौं तहमा कार्यरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?