
२ असोज, काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आसन्न निर्वाचनलाई लक्षित गरी ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने भएको छ ।
निर्वाचन परिचालनका लागि यूनियनले अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठनसमेत गरेको छ ।
यी युवाहरुले निर्वाचन केन्द्रका बुथमा आउने मतदातालाई जागरण, सुरक्षा, पार्टी तथा गठबन्धनका उम्मेदवारको पक्षमा प्रचार प्रसार तथा चुनाव भाँड्ने षडयन्त्रलाई रोक्ने मुख्य जिम्मेवारी रहने अध्यक्ष पराजुलीले जानकारी दिए ।
‘सत्ता गठबन्धनले बुथ कब्जा गर्नसक्छ भनेर आरोप लगाउने एमालेले मौका परे आफैंले निर्वाचन भाँड्न सक्छ, त्यही भएर यी युथले निगरानी गर्नेछन् र त्यस्ता षडयन्त्रलाई परास्त गर्नेछन्,’ उनले भने ।
केन्द्रबाट ल्याइएको यो अवधारणालाई ७७ वटै जिल्ला कमिटी, प्रदेश कमिटी र महानगर कमिटीलाई कार्यान्वयन गर्न भनिएको अध्यक्ष पराजुलीले जानकारी दिए । महानगरभन्दा तल्ला कमिटीहरुलाई भने जिल्लाले नै हेर्ने उनले बताए ।
प्रतिक्रिया 4