
काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ यस वर्ष धेरै कमाउने हिन्दी फिल्म बनेको छ । ‘द कश्मीर फाइल्स’लाई उछिन्दै यो फिल्मले विश्व बक्स अफिसमा कीर्तिमान रचेको हो ।
सुरुवाती चार दिन कमाइ खुम्चिए पनि दोस्रो सप्ताहन्तमा भने यसले उछाल कमाउन सक्यो । दोस्रो शनिबारको कलेक्सनमा ५० प्रतिशत वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार मात्रै यो फिल्मले भारतीय बक्स अफिसमा सबै भाषामा १६ करोड नेट कलेक्सन गरेको छ । दोस्रो शुक्रबार १०.५ करोड र पहिलो बिहीबार ९ करोड भारु कमाएको थियो ।
यतिबेला ‘ब्रह्मास्त्र’ घरेलु बक्स अफिसमा २०० करोड भारु कमाउने दौडमा छ । दोस्रो सप्ताहन्तसम्म विश्वभर फिल्मको कुल कमाइ ३५० करोड भारु छ । कश्मीर फाइल्सको लाइफटाइम कलेक्सन ३४० करोड भारु थियो ।
घरेलु बक्स अफिसमा पनि फिल्मले कार्तिक आर्यनको ‘भुलभुलैया २’ को कमाइलाई उछिन्दै यस वर्ष दोस्रो सर्वाधिक कमाउने फिल्म पनि ‘ब्रह्मास्त्र’ बनेको छ । ‘भुलभुलैया २’ ले भारतमा १८५ करोड भारु कमाएको थियो ।
व्यापार विश्लेषकहरु दोस्रो सप्ताहन्तमा फिल्मले ४० करोड कमाउने र यो स्वभाविक कमाइ हुने बताउँछन् ।
प्रतिक्रिया 4