
काठमाडौं । बक्स अफिसमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ले आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति तय गरेपछि तरंग सिर्जना भएको छ ।
उक्त मितिलाई मिलन चाम्सको ‘वर एण्ड वधु’, शर्मिला पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले यसअघि नै रिलिज डेट घोषणा गरिसकेका छन् । तर यो मितिमा ‘छक्कापञ्जा ४’ पनि आउने भएपछि बाँकी तीन फिल्मबीच कम्पन पैदा भएको छ ।
यद्यपि, तीनै फिल्मका निर्माताले ‘छक्कापञ्जा ४’को बाबजुद पनि आफ्नो फिल्म सोही मितिमै आउने दाबी गरिरहेका छन् । ‘परस्त्री’ निर्मात्री शर्मिला पाण्डेले निर्धारित मितिमै आफ्नो फिल्म आउने र रिलिजबारे चलचित्र विकास बोर्डसँग छलफल गरेर अघि बढ्ने बताइन् । अहिले मुम्बईमा पोस्ट प्रोडक्सन भइरहेको फिल्म ‘वर एण्ड वधु’का निर्देशक चाम्सले निर्मातासँग छलफल गरेर अघि बढ्ने बताए ।
रोचक त के छ भने ‘छक्कापञ्जा ४’ र ‘वर एण्ड वधु’का वितरक एउटै हुन् । वितरक मनोज राठीले वर एण्ड वधुसँग वितरणको लिखित सहमति नभएकाले उक्त मितिमा प्रदर्शन मिति घोषणा गर्न कठिन भएको बताए ।
‘बुलाकी’ पनि फागुन १९ गतेबाट पछि नहट्ने अडानमा छ । निर्देशक तथा लेखक लक्ष्मण सुनारले फेसबुकमा स्टाटस लेख्दै ब्रान्डको नाममा नतर्साउन ‘छक्कापञ्जा ४’ लाई चेतावनी दिएका छन् । लेखक विराज विष्टले पनि दीपकराजको समूहलाई बाघ नसम्झन भनेका छन् ।
व्यावहारिक कुरा गर्दा उक्त मितिमा चारवटा फिल्म आउने सम्भावना छैन । यस्तोमा कुन-कुन फिल्म पछि हट्छन् भन्ने कुरा अहिलेसम्म अन्योल नै छ । उक्त मितिमा अन्य विदेशी फिल्म पनि रिलिज हुने सम्भावना छ ।
प्रतिक्रिया 4