+
+

बीजेपी नेता अमित साहका पूर्व स्वकीय सचिव कांग्रेसबाट उम्मेदवार सिफारिस

'पार्टीमा योगदानले भएर होइन, माथिको दबावले नाम पठाइएको हो'

लिलु डुम्रे लिलु डुम्रे
२०७९ असोज २ गते २०:२०

२ असोज, काठमाडौं । पाल्पा, रामपुरका सन्दीप राना जनस्तरमा भिजेका नेता होइनन् । धेरै समय भारतमा बसेका उनको पछिल्लो समय पाल्पामा आउजाउ बढेको थियो ।

१४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएका उनी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–१ बाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस भए । निर्वाचन क्षेत्र स्तरीय समितिले प्राय प्रत्यक्ष र समानुपातिकतर्फ एकै व्यक्तिलाई सिफारिस गर्दैन, तर राना भने दुवैतर्फ सिफारिस हुन सफल भए । समानुपातिकतर्फ त उनी पहिलो नम्बरमै सिफारिस भएका छन् ।

पाल्पा–१ का क्षेत्रीय सभापति झमन मगरले सन्दीपकै आग्रह अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरेको बताए । ‘दुवैतिर नाम राख्नुस् भन्नुभयो । त्यसैले प्रत्यक्ष र समानुपातिक दुवैतिर नाम राखेर पठाएको हो’ उनले भने, ‘समानुपातिकमा पहिलो नम्बर र प्रत्यक्षमा चौथो नम्बरमा राखेर नाम पठाएको हुँ ।’

रानाको पार्टीमा सक्रियता, योगदानका आधारमा उम्मेदवार सिफारिस हुन योग्य नभएको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । अझ उनको विगतको भूमिकालाई लिएर जिल्ला तहका नेताहरुले प्रश्न उठाएका हुन् ।

एक जिल्ला नेताका अनुसार रानाले आठ वर्ष भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा हालका गृहमन्त्री अमित साहको स्वकीय सचिवको भूमिकामा रहेर काम गरेका थिए ।

नेपाल विद्यार्थी संघको भारतको अध्यक्षको भूमिकामा रहँदा उनले भारतीय नेताहरुसँगको सम्पर्क बढाएका थिए । दिल्ली विश्वविद्यालयमा अध्ययनरत हुँदा भारतीय जनता पार्टीसँग नजिकिएका थिए । कांग्रेसका शीर्ष नेताहरु दिल्ली गएका बेला भारतीय नेतासँग भेट मिलाउने गरेका थिए । उनले वीपी चिन्तन प्रतिष्ठान भारतको प्रमुख भएर काम गरेका थिए ।

भारत रहँदा नेपाली कांग्रेसको उपल्लो तहमा सम्बन्ध विस्तार गरेकै कारण अहिले उनको नाम सिफारिस भएको पाल्पाका कांग्रेस नेताहरु बताउँछन् । ‘भारत भनेपछि माथिल्लो तहकै नेताहरु त शरण पर्दछन् । जिल्लामा आएर म अमित साहको स्वकीय सचिव भएको मान्छे भनेपछि क्षेत्रका नेताहरु त्यसै पनि शरण पर्छन्’ पाल्पाका कांग्रेसका एक नेता भन्छन् ।

जिल्लामा वर्षौं दुख गरेका नेताहरुलाई पन्छाएर उनको नाम सिफारिस गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि छ । ‘कांग्रेसमा लागेर दशकौं दुख पाउनेको नाम सिफारिस गरिएको छैन । भारतीय संस्थापन पक्षको नजिक भएकाले उनको नाम पठाइएको हो’, ती नेता भन्छन्, ‘क्षेत्र, जिल्ला र प्रदेशबाट नाम सिफारिस हुँदा उनको पार्टीमा भएको योगदानले भएको होइन । माथिको दबावले उनको नाम पठाइएको हो ।’

महासमिति सदस्य भएपनि उनले जिल्लामा पार्टीका लागि खासै योगदान नगरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् । नाम सिफारिस हुँदै गर्दा गाउँ डुलेको, संगठन गरेको हेर्नुपर्नेमा कसैको दबाबमा छनोट गर्न नहुने ती नेताहरुको तर्क छ ।

‘को मान्छे कहाँ बस्छ ? कसको पहुँचले आयो र टिकट लिएर गयो भन्ने थाहा भएन त कांग्रेसको नीति, सिद्धान्त, विचार र विधि अनुसार हुँदैन’, पाल्पा– काठमाडौं सम्पर्क समितिका अध्यक्ष खिमानन्द बस्याल भन्छन्, ‘ग्रासरुटमा दुख गरेका एबीसी जोसुकै होउन्, त्यसको मतलब भएन । तर, उहाँले टिकट पाउनुभयो भने आम कार्यकर्ताको मनोबल कमजोर हुनपुग्छ ।’

क्षेत्रका जनता तथा कार्यकर्ताको इच्छा उनलाई उम्मेदवार बनाउनै नहुने रहेको बस्याल दाबी गर्छन् । रानाको नाम अघिल्लोपटक पनि समानुपातिक प्रणालीतर्फ सिफारिस भएको थियो । उनको नाम सिफारिस भएपछि उनलाई उम्मेदवार बनाउन नहुने चर्को दबाव पार्टी भित्रै उठेको थियो । जिल्ला तहका नेताले संसदीय बोर्डका सदस्यहरुलाई दबाव दिएपछि उनको नाम समानुपातिकको सूचीमा परेको थिएन ।

‘उनी उम्मेदवार बने भने संसदमा छिमेकीको प्रभाव बढ्छ’, कांग्रेसका जिल्ला तहका ती नेता भन्छन् । पठाइएको नाममा असन्तुष्टि रहेको भए पनि सार्वजनिक रुपमा नेताहरुले बोल्न नसकेको उनको बुझाइ छ ।

कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले भने रानाले भारतको जिम्मेवारी छाडेर आइसकेकाले उम्मेदवार सिफारिस गरेको बताए । ‘अब उहाँ भारतीय गृहमन्त्रीको स्वकीय सचिवको भूमिकामा हुनुहुन्न । त्यसैले सिफारिसमा पर्नुभयो’ उनले भने ।

अनलाइनखबरसँग सम्पर्कमा आएका रानाले उम्मेदवारी सिफारिस र भारतीय संस्थापन नेताहरुसंगको सम्बन्धबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।

रामपुरमा खोप ल्याउन खोजेका थिए

२०७८ जेठमा रामपुर नगरपालिकाका तत्कालिन प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप ल्याउने अनुमति दिन माग गरे । केन्द्र सरकारले खोप दिन नसकेको भन्दै उनले आफ्नो पालिकालाई आवश्यक खोप भारतबाट ल्याउन सक्ने भन्दै अनुमति माग गरेका थिए ।

उनले आँट गर्नुको बलियो आधार सन्दीप राना नै थिए । राना रामपुर नगरपालिका–७ का बासिन्दा हुन् । सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको तत्कालीन मेयर थापाको भनाइ थियो । रानाको समन्वयमा भारतका ३ वटा कम्पनीबाट खोप खरिद गर्न सकिने उनले त्यतिबेला अनलाइनखबरलाई बताएका थिए ।

नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य राना अमित साहको सचिवालयमा मुख्य भूमिकामा काम गर्ने व्यक्ति नभएको बताउँछन् । ‘स्वकीय सचिव भनेर मुख्य भूमिका भएका व्यक्ति होइनन् । सामान्य हुन्, त्यो जिम्मेवारी पनि छोडे । इमान्दार व्यक्ति हुन् । कम बोल्छन्, लप्पन छप्पन देखिन्न’ उनले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?