
२ असोज, काठमाडौं । निर्वाचन आयोगमा होहल्ला गरेको भन्दै तीन पार्टीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख आयुक्त दिनेश थपलियासँग वादविवाद र चर्काचर्कीपछि नेकपा राष्ट्रवादीका अध्यक्ष मीनानाथ देवकोटा, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्णगोपाल बञ्जरा र समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिई दरबारमार्ग वृत्तमा राखेको छ ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउन गएका उनीहरुलाई आयोगले महाधिवेशन नगरेको ६ महिना भन्दा बढी भएको भन्दै ५० हजार रुपैयाँ जरिवाना हुने निर्णय सुनाएको थियो । यस विषयमा प्रमुख आयुक्त थपलियासँग भेटेर कुराकानी गर्न खोजेका उनीहरुले आयोगका सचिवको कार्यकक्षमा थपलियासँग भेट गरेका थिए ।
त्यस क्रममा विवाद भएपछि होहल्ला गरेको आरोपमा आफूहरुलाई प्रहरीले नियन्त्रणलमा लिएको समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले बताए ।
‘हामीले गरेको अपराधिक विषय नभइएर राजनीतिक विषय हो । होहल्ला गरेको होइन, विचार राख्ने क्रममा चर्को स्वर भयो होला, हामीलाई अन्याय भएपछि बोलेका हौं’ उनले भने ।
प्रतिक्रिया 4