+
+

माओवादी कार्यदलले हटायो समानुपातिक सूचीका १६ सय नाम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:३५

३ असोज, काठमाडौं । समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ ।

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो ।

नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले तोकेको क्लस्टर अनुसार मिलाउन देव गुरुङ नेतृत्वको तीन सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य छन् ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यदल बैठकले संघ र प्रदेशका लागि सिफारिस भएका १६ सय नाम हटाएको केन्द्रीय कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार संघ र प्रदेशका लागि २ हजार नाम आएकोमा त्यसलाई मिलाउँदै आयोगले ४ सय मा झारेको हो ।

‘जिल्लाले धेरै नाम पठाएका थिए,’ उनले अनलाइनखबरसित भने, ‘३०-३५ जनासम्मको नाम आएको थियो । प्राथमिकता निर्धारण गर्दा ३३० बुझाउनु पर्नेमा ४०० मा आएको छ ।’

आयोगमा संघका लागि ११० र प्रदेशका लागि २२० जनाको नाम पठाउनुपर्छ । टुंग्याएको ४०० नाममा पनि मधेश प्रदेशका धेरै परेकाले सोमबार पदाधिकारीको बैठक बस्नुअघि मधेश प्रदेशका नेताहरुसँग बसेर मिलाइने उपाध्यायले बताए ।

छलफलबाट बढी भएको ७० नाम पनि हटाउन सकिने भएकाले भोलिको पदाधिकारी बैठकले बन्द सूची सहजै टुंग्याउने उनले बताए । निर्वाचन अयोगले समानुपातिकको बन्द सूची बुझाउन (भोलि) असोज ३ गतेको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?