
३ असोज, जनकपुरधाम । मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए ।
लोकसेवा आयोगबाट प्रश्नपत्र शीलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको अवस्थामा पुगेको परीक्षा केन्द्रमा खटिएका कर्मचारीहरुले बताएका छन् ।
गत शनिबार लिएको सहायक पाँचौं तहको परीक्षामा समेत यस्तै व्यथिति देखिएको राराब क्याम्पस परीक्षा केन्द्रमा खटिएका अर्का कर्मचारीले बताए । ‘प्रश्नपत्र प्याकिङ गर्दा मापदण्ड पूरा गरेको छैन । निजामती अनुभवी कर्मचारी गार्डको रुपमा खटाउनुपर्नेमा निजी विद्यालयका शिक्षक, एनजीओ, आइएनजीओका कर्मचारी र पहुँचको भरमा जथाभावी व्यक्तिलाई खटाएको देखियो’ परीक्षामा खटिएका अर्का कर्मचारीले भने ।
परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तरपुस्तिका सुरक्षित रुपले लोकसेवा आयोगसम्म पुर्याउनुपर्नेमा त्यसो नगरी कर्मचारी आफैंले लिएर गएको पनि बताए ।
आयोगका सदस्य महारुद्र झाले शीलबन्दीमा प्रयोग हुने शील (लाहा) गुणस्तरहीन भएकोले यस्तो समस्या आएको बताए । ‘शीलबन्दी सबैमा थियो । प्रश्नपत्र पठाउन शीलबन्दी गर्ने बेला शील (लाहा) त्यसबाट उप्किन्छ । हामी त्यसलाई चेन्ज गरेका छौं’ सदस्य झाले भने, ‘शील जनकपुरमै किनिएको थियो ।’
शील कमजोर भएको विषयमा छलफल भएको पनि उनले बताए । परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रुपमा खटाएको उनको भनाइ छ ।
परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रुपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल नै मान्नुपर्ने उनको भनाइ छ । परीक्षामा हुने कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने आयोगका सदस्य झाले बताए ।
प्रतिक्रिया 4