६ असोज काठमाडौं । दशरथ रंगशालमा ११ असोजमा हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अन्तिम टोलीमा समावेश हुँदै युवा फरवार्डद्वय ऋतिककुमार खड्का र आशिष चौधरीले राष्ट्रिय फुटबल टिममा ‘इन्ट्री’ गरेका छन् ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार घोषणा गरेको २३ सदस्यीय टोलीमा ऋतिक र आशिष दुई जना नयाँ अनुहार छन् ।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ऋतिक र आशिषले प्रशिक्षण दौरान राम्रो सम्भावना देखाएको प्रशिक्षक हुमागाईँले बताए ।
‘उनीहरु राम्रो खेलाडी हुन् । ट्रेनिङ दौरान पनि राम्रो गरेर नै उनीहरु टिममा परेका हुन् । हामीले उनीहरुबाट राम्रो अपेक्षा रखेका छौं,’ हुमागाईँले टिम घोषणा कार्यक्रममा भने, ‘राम्रो क्यारेक्टर र प्रोफेसनालिजम भएकोले नै उनीहरु टिममा परेका हुन् ।’
पहिलो पटक राष्ट्रिय टिममा परेपछि ऋतिक र आशिष दुवै जना उत्साहित छन् । राष्ट्रिय टिमको जर्सी लगाएर सिनियर खेलाडीहरुसँगै ड्रेसिङ रुम सेयर गर्न उनीहरु उत्साहित भएको बताए ।
‘एकदमै खुशी अनुभव भइरहेको छ । यो सुरुवात मात्र हो,’ ऋतिकले अनलाइनखबरसँग भने, ‘अझै धेरै संघर्ष गरेर देशका लागि आफ्नो उत्कृष्ट प्रदर्शन दिने चाहना छ ।’
सर्लाही लालबन्दीका २० वर्षीय ऋतिकले गत वर्ष थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलेका थिए । उनले उक्त लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
चर्च ब्वाइज क्लबलाई ए डिभिजनमा उकाल्न उत्कृष्ट प्रदर्शन गरेका आशिष यसअघि पनि क्लोज क्याम्पमा परेका थिए । तर घुँडाको समस्याका कारण उनी अन्तिम टिममा परेनन् । ‘राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको छ । यो मेरो सुरुवात मात्र हो । आफ्नो देशबाट खेल्न पाए अझ धेरै गर्व अनुभव गर्छु’, आशिषले अनलाइनखबरसँग भने ।
मोरङ हरैचाँ-७ गछियाका २२ वर्षीय आशिष चर्च ब्वाइज ए डिभिजनमा उक्लँदा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
१३ खेलाडीको पुनरागमन
यसअघि अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेका टिमबाट बाहिरिएका तत्कालीन कप्तान किरणकुमार लिम्बुसहित १० खेलाडी र अरु २ गरी १३ जना खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
अल्मुताइरीसँगको विवादले बन्द प्रशिक्षणबाट बाहिरिएका रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, विमल घर्ती मगर, अन्जन विष्टसहित उनीहरुलाई समर्थन गरेका किरण टिममा फर्किएका हुन् ।
यी खेलाडीसँगै टिमबाट बाहिरिएका सुमन लामा भने अष्ट्रेलिया पलायन भइसकेका छन् ।
गोलकिपर विकेश कुथु र डिफेण्डर रन्जित धिमालले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । गत जेठमा कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलेको टिममा रहेका ८ खेलाडीले टिममा निरन्तरता पाएका छन् ।
सुदिप गुरुङ पनि राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएका छन् । अल्मुताइरीको प्रशिक्षक रहेका बेला विकेश र रन्जित टिममा पर्न सकेका थिएनन् । सुदिपलाई भने अल्मुताइरीले नै डेब्यु गराएका थिए ।
कप्तान पछि घोषणा हुने
बंगलादेश विरुद्धको खेलका लागि अन्तिम टोली घोषणा गरेका प्रशिक्षक हुमागाईँले कप्तान घोषणा गरेका छैनन् ।
यसअघि कप्तान रहिसकेका गोलकिपर किरण टिममा फर्किएका छन् । तर जेठमा कुवेतमा भएको एसियन कप छनोटमा नेपालको कप्तानी गरेका फरवार्ड नवयुग श्रेष्ठ टिममा छैनन् । हुमागाईँले खेलअघि कप्तान घोषणा गर्ने बताए । ‘कप्तान खेलअघि नै घोषणा हुनेछ’, हुमागाईँले भने ।

नवयुग श्रेष्ठ टिममा पर्नु पर्ने खेलाडी भए पनि केही कारणले टिम बाहिर राखेको उनले बताए । कारण नखुलाएका उनले भने, ‘उनी टिममा डिजर्भ गर्ने मान्छे हुन् तर केही कारणले परेनन् ।’
यसअघि बन्द प्रशिक्षणमा भएका ३० खेलाडीबाट उनले २३ जना छानेका हुन् । ३० जनामा रहेका फरवार्डमध्ये नवयुग सँगै भरत खवास पनि टिममा परेनन् ।
एसियन कप छनोट अन्तर्गत नेपालले खेलेको पछिल्लो खेल इन्डोनेसिया विरुद्ध नेपालको आर्मब्याण्ड लगाएका मिडपिल्डर पुजन उपकरोटी भने ३० जनाको टोलीमै परेका थिएनन् ।
सुनिल बल भने चोटका कारण टिममा नपरेको हुमगाईँले जानकारी दिए । यू-२० टिमका कप्तान आयुष घलान यू-२० टिमसँग रहेकोले राष्ट्रिय टोलीमा नराखेको उनले बताए ।
यू-१९ एसिया कप छनोटमा बंगलादेश विरुद्ध आयुषको अनुशासनहीन व्यवहारले गर्दा पनि साइकोलोजिकल रुपमा असर गरेको उनले बताए ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेण्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डर : सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट
फरवार्ड : विमल घर्ती मगर, अञ्जन विष्ट, ऋतिककुमार खड्का, मनिष डाँगी र आशिष चौधरी
प्रतिक्रिया 4