
६ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो बिहीबारदेखि सुरु भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्स्पोको शुभारम्भ अर्थमन्त्री जनार्दन शर्माले गरे । यो एक्स्पो चार दिनसम्म सञ्चालन हुनेछ ।
नाडाका अध्यक्ष धुब्र थापाका अनुसार नेपालमा विद्युतीय सवारी साधनको अपरिहार्यतालाई महसुस गर्दै नाडा ईभी एक्स्पो शुभारम्भ गरिएको हो । विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको भन्दै उनले प्रदूषण कम गर्ने मात्र नभई विद्युत् खपतमा समेत सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने उनले बताए ।
सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताइ रहदाँ १०० किलोवाट माथिका गाडीमा कर बढाउनु उपयुक्त नभएको नाडाको भनाइ छ । ‘सरकारले १०० किलोवाट माथिका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्री शर्मा समक्ष भने, ‘नेपालको भौगोलिक अवस्था अनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु ।’
सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसका लागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । अध्यक्ष थापाले सरकारले स्थिर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवर्द्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताए । ‘विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने, ‘अब कोइला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजनतर्फ गइरहेका छौं ।’
अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए । ‘गाडी उत्पादन यही गर्नुहोस्, विद्युत् र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने, ‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुस् ।’
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाख मै गाडी पाउने अवस्था रहेको बताए । अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तःशुल्क र भन्सार महसुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्न विद्युतीय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारण व्यक्त गरे ।
नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिनादेखी अटो व्यवसायी मारमा परिहेको जानकारी गराए । कार, जीप, भ्यान र १५० सीसी माथिका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरे ।
नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक हुन लागेको हो । नाडा ईभी एक्स्पोका सभापति अनुप बरालका अनुसार एक्स्पोमा ५१ वटा स्टल छन् । उनका अनुसार नाडा ईभी एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् ।
गाडीमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाइडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता छ । अग्नी ग्रुपको ३ पांग्रे टेरो ब्रान्ड रहेको छ । दुई पांग्रेमा लेभ्निङ, एनआईयू, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आइमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ ।
चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ ।
सिएटद्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ । नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आकलन गरिएको छ।
नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ । नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ईभी चौतारी समेतको आयोजना गर्दैछ ।
शुक्रबारको गोष्ठीमा प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुँदै छ । जसमा वन तथा वातावरण सचिव प्रेम नारायण कँडेल रहने छन् भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सीईओ अभिशेक कार्की, सिप्रदीका दिनेश पौडेल र नेपाल विद्युत् प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन । यूएसएड क्लिन एयरको सहयोगमा भइरहेको ईभी चौतारीमा भुषण तुलाधर मोडरेट रहेका छन् । नाडाको पहलमा भृकुटीमण्डपमा रक्तदान कार्यक्रम समेत सञ्चालन हुँदैछ ।
प्रतिक्रिया 4