+
+

पोखराको टुँडिखेल : जहाँबाट भित्रिन्थ्यो दशैं

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज ७ गते २१:०६

७ असोज, पोखरा । एक समय पोखरामा मुख–मुखमा झुण्डिएको हुन्थ्यो-‘दशैंमा टुँडिखेल जाने हो, भेडा–च्यांग्रा किन्ने हो !’ हुन पनि तत्कालीन अवस्था त्यस्तै थियो ।

तिब्बत, मनाङ र मुस्ताङबाट दशैंको छेकोमा पोखरा झर्ने भेडा–च्यांग्रा टुँडिखेलमा जम्मा हुन्थे । त्यहाँ अघोषित रूपमै भव्य मेला लाग्थ्यो । स्थानीयका अनुसार मेलामा ग्रामीण भेगबाट मान्द्रो, नाङ्लो, डोकोलगायत हस्तकलाका सामग्री किनबेच, साटफेरका लागि आउने गर्दथे ।

मेलामा पोखरा उपत्यकाका मात्रै नभई आसपासबाट पनि आउने भएकाले रौनकै छुट्टै हुन्थ्यो । हस्तकला, लुगाफाटो बिक्री–वितरणका लागि राखिने भए पनि सबैभन्दा बढी आकर्षणका रूपमा हिमाली जिल्लाबाट झरेका भेडा–च्यांग्रा नै हुन्थे ।

‘त्यो टुँडिखेल मैदान मात्र होइन, दशैं भित्र्याउने आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध जोड्ने ठाउँ पनि हो । टुँडिखेल दशैं किनमेलको इतिहाससँग गाँसिन्छ’ साहित्यकार सरुभक्तले लेखेका छन्, ‘पोखरा आसपासका उपत्यकादेखि गाउँहरूले बजार गर्न पाउने थलो बनेर जोडिन्छ ।’

साहित्यकार सरुभक्तका अनुसार टुँडिखेल हिमाली क्षेत्रका किसानको अर्थशास्त्रसँग पनि सम्बन्धित थियो । ‘दशैं सुरु हुनुभन्दा दुई/चार दिनभन्दा पहिले नै भेडा–च्यांग्रा आइपुग्थे । अहिलेजस्तो गाडीको ट्याँ–ट्याँ थिएन, मान्छेले लिएर गएका भेंडाको भ्या–भ्या, च्यांग्राको म्याँ–म्याँसँगै टोल–टोलमा दशैं हिंड्थ्यो’ उनी लेख्छन्, ‘जब मुस्ताङदेखि टुँडिखेलसम्म भेडा–च्यांग्रा आइपुग्थ्यो, अनि पोखरेलीको दशैं उत्सव भित्रिन्थ्यो ।’

पोखरा महानगर वडा नं. १ मा पर्ने टुँडिखेलमा दशैंको मौकामा लाग्ने उक्त मेलाको इतिहास १०० वर्षभन्दा अधिक रहेको त्यहाँका स्थानीय बताउँछन् । टुँडिखेलमा दशैं मेला ठ्याक्कै कहिलेदेखि सुरु भएको भन्ने आधिकारिक अभिलेख नभए पनि विद्यालय खुल्नुभन्दा अघिबाटै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद दवाडी बताउँछन् । ‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा अघि पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिंदैन’, उनी भन्छन् ।

वि.सं. २००६ मा स्थापना भएको राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको उक्त मैदानमा बर्सेनि लाग्ने मेलामा उहिले जस्तो भेडा–च्यांग्राको बथान देखिंदैन । न त पुरानो रौनक नै बाँकी छ । विद्यालयका प्रधानाध्यापक कृष्ण उदासीका अनुसार पहिले मेलामा व्यापारी तथा किसान आफैं स्वतस्फूर्त रूपमा भेडा–च्यांग्रा ल्याउने गर्दथे । तरपछि ५० को दशकबाट विद्यालयले ठेक्का प्रक्रियाबाट बिक्री–वितरण गर्न थालेपछि च्यांग्रा व्यापारी निरुत्साहित हुँदै गएका हुन् ।

‘पहिले धेरै त यहाँकै स्थानीयले भेडा–च्यांग्रा लिएर बिक्री–वितरण गर्थे । अन्यत्र पाइँदैनथ्यो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचीन हाटबजार थियो’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’

उदासीका अनुसार तत्कालीन समयमा विद्यालयमा विद्यार्थी थोरै र आम्दानीको स्रोतका लागि पनि भेडा–च्यांग्रा बिक्री–वितरणका लागि ठेक्का लगाउनु परेको थियो । ‘त्यतिबेला नै एउटा गोठको ३० हजार रुपैयाँसम्म असुलिएको रहेछ । त्यसले व्यवसायीलाई झनै निरुत्साहित बनाइदियो अनि यहाँबाट विस्थापित हुनथाले’, उनी भन्छन् ।

पहिले स्वतस्फूर्त खुला रूपमा मेला लाग्ने गरे पनि २०७५ सालदेखि विद्यालयले जिम्मा लिएको छ । उदासी भन्छन्, ‘स्वतस्फूर्त हुँदा अव्यवस्थित पनि भयो । मेलाको मौलिकता र इतिहास पनि विस्तारै हराउन थाल्यो । त्यसलाई फेरि फर्काउन र व्यवस्थित गर्न पनि स्कुलले नै जिम्मा लिएको हो ।’

टुँडिखेल छाडेर हेम्जा फाँट उक्लिन थालेका भेडा–च्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दशैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडा–च्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिंदैछ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम अधिकारीका अनुसार अहिले कम्तीमा १० वटा गोठ निर्माण हुनेछ । ‘आवश्यकता अनुसार गोठ थपघट हुन पनि सक्छ’, उनले भने । टुँडिखेलबाट दशैंका लागि आएका भेडा–च्यांग्रा विस्थापन हुनुको अर्को कारण चरन क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ ।

‘वरिपरिका सबै चरन क्षेत्र घडेरीले प्याक भइसके । चरन क्षेत्र नै नभएपछि भेडा–च्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्न थालेको हो’, उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडा–च्यांग्रा राखिने गरिन्छ ।

विद्यालयका अनुसार दशैंको फूलपातीदेखि लाग्ने दशैं मेलामा भेडा–च्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन ।

‘हराउँदै गएका हस्तकला आजको पुस्तालाई देखाउन पनि जरूरी छ । आफैंले उत्पादन गरेका हस्तकला बिक्री–वितरण गर्न कुनै शुल्क लिइने छैन’ प्रधानाध्यापक कृष्ण उदासीले भने, ‘तर व्यापारिक ध्येयले नै खरिद–बिक्री गर्ने व्यवसायीका लागि भने शुल्क लाग्नेछ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?