
९ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।
आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो ।
एक सहभागीका अनुसार छलफलमा प्रधानमन्त्री र गृहमन्त्री केही बोलेनन् । दलका प्रतिनिधिहरुले भने प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा सहभागी हुन नपाउने व्यवस्थाको विरोध गरेका छन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले घरदैलोका क्रममा २५ जनामात्र सहभागी हुनुपर्ने व्यवस्थाको विरोध गरे । कांग्रेस उपसभापति धनराज गुरुङले प्रधानमन्त्री र मन्त्री आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्यत्र प्रचारमा सहभागी हुन नपाउने प्रावधान संशोधनको माग गरे । लोसपा नेता केशव झाले भने समानुपातिकको बन्दसूचीमा रहेका मन्त्रीलाई चुनाव प्रचारमा कसरी रोक्ने भनेर प्रश्न गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने पर्सि हुने बैठकमा यसलाई कसरी सहज बनाउने भनेर छलफल गर्ने भन्दै आचार संहितामा भने हस्ताक्षर गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया 4