
९ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान (गहवा माइ) मन्दिर क्षेत्रको सौन्दर्यकरण सोमबार रातिसम्म सक्न निर्देशन दिएका छन् ।
घटस्थापनाको दिनदेखि नै माइस्थानमा पूजा अर्चना दर्शनार्थीको भिड लाग्ने गर्छ । सोमबारदेखि दशैं सुरु हुने भएकाले सौन्दर्यकरणको काम सोमबार रातिसम्म सक्न निर्माणकर्तालाई मेयर सिंहले निर्देशन दिएका हुन् ।
उनले यस पटक भक्तजनले सहजताका साथ दर्शन गर्न पाउने व्यवस्था मिलाउने पनि बताए ।
मन्दिर आसपासका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएका सामान हटाएर मन्दिर क्षेत्र सफा राख्न नगर प्रहरीलाई उनले निर्देशन दिएका छन् ।
‘फुटपाथ र नाला मिचेर सामान राखेको देखिन्छ । आतंक मच्चाउने गरी हैन, सम्झाइ बुझाइ गरेर हटाउन लगाउनू’ उनले भने ।
महानगरले ८५ लाखको लागतमा माइस्थान मन्दिर परिसर सौन्दर्यकरणको काम गरिरहेको छ ।
माइस्थान मन्दिर परिसरमा फलफुल, पूजा सामाग्री र स्ट्रिट फुडको बिक्री हुँदै आएकोमा अबदेखि त्यसो नहुने भएको छ । मुख्य सडकदेखि मन्दिर परिसरसम्म साइकल, मोटरसाइकल समेत सवारी आवागमन निषेध गरेर सुन्दर राख्ने परिकल्पना महानगरपालिकाले गरेको छ ।
महानगरपालिकाका पूर्वाधार विज्ञ सल्लाहाकार प्रकाश अमात्यका अनुसार मन्दिर परिसरमा पसल व्यवसाय समेत सञ्चालन गर्न नदिने तयारी भइरहेको छ ।
‘मुख्य सडकदेखि मन्दिरसम्म साइकल, मोटरसाइकल पनि जाँदैन, फलफुल पसल, ठेला पनि लगाउन नदिन भनेका छौं’, उनले भने, ‘मुख्य सडकबाट भित्र पस्ने ठाउँमा नै बार लगाइदिन्छौं । अब दशैं मेला सुरु हुन्छ, दशैंपछि पूनः सौन्दर्यकरणका अन्य काम गर्छौ ।’
प्रतिक्रिया 4