
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफू ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै बन्न इच्छुक रहेको बताएका छन् ।
समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको पनि बताए । महतले कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘समानुपातिकको सुची बन्द अवस्थामा छ । त्यसको चर्चा गर्न अहिले आवश्यक छैन । म प्रत्यक्षमै लड्न चाहन्छु । त्यो कुरा मैले नेतृत्व तहमा सुस्पष्ट तरिकाले पटक पटक बताएको छु’ महतले भने ।
महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीमा चौथो नम्बरमा छ ।
नेता डा. शेखर कोइराला पक्षले गरेका गतिविधि पार्टीले नियालिरहेको प्रवक्ता महतले बताए ।
शेखर पक्षका नेताहरुसहित बनेको बन्द सूचीमा असन्तुष्टि जनाउनुमा अर्थ नहरेको उनले बताए । ‘सम्पूर्ण निर्णय सहमतिमा भएको छ । सूची बनाउँदा पक्ष र विपक्ष भनी बनाइएको होइन’, प्रवक्ता महतले भने, ‘के के न भयो कि जस्तो गरी प्रस्तुत हुनुभएको छ । कुनै द्विविधामा पर्न आवश्यक छैन ।’
अनुशासन बाहिर भएका कामलाई पार्टीले नियालिरहेको र पार्टीले आवश्यक निर्णय लिने उनले बताए । विधि विधान अनुसार मात्रै नभएर सर्वसम्मत निर्णय भएको उनले दाबी गरे ।
समानुपातिक तर्फको सूची बनाउँदा शेखर पक्षका शीर्ष नेता तथा सभापतिमा प्रतिस्पर्धा गरेका व्यक्ति सहभागी भएको महतले बताए । ‘बैठकमा भएका नेताहरुले त बाहिर केही भन्नुभएको छैन । केही साथीहरुलाई अन्योल पार्ने काम भएको छ’ महतले भने ।
प्रतिक्रिया 4