
बढ्दो डेङ्गु रोग, लामखुट्टेको भुनभुन आवाज र टोकाइले हामी सबै दिक्क छौं। सबैलाई एक न एकपटक लामखुट्टे पृथ्वीमै नभइदिए हुन्थ्यो जस्तो पनि लाग्न सक्छ। तर वास्तवमा लामखुट्टेको पनि हरेक प्राणीसरह आफ्नै महत्त्व छ।
नेशनल जिओग्राफीका अनुसार संसारभर करिब ३ हजारभन्दा बढी प्रजातिका लामखुट्टे छन्। जसमध्ये केही मात्र मानिसको लागि हानिकारक हुन पुग्छन् । लामखुट्टेले प्रायः एकपटकमा सयौंसम्म अण्डा दिन्छ। लामखुट्टेको अण्डा पानीमा पर्दा मात्र निस्कन सक्छ, त्यसैले यी कीराहरूले आफ्नो अण्डा पानीमा वा नजिक पार्छन्।
विभिन्न लामखुट्टेका प्रजातिहरूले आफ्नो अण्डाहरू राख्न विभिन्न जलीय वासस्थानहरू रुचाउँछन्l लामखुट्टेको औसत आयु प्रजाति, तापक्रम, आर्द्रता र वर्षाको समयको आधारमा भिन्न हुन्छ। सामान्यतया पोथी लामखुट्टे केही हप्ता बाँच्छन्, जबकि भाले लामखुट्टे मात्र एक हप्ताको लागि बाँच्दछ ।
लामखुट्टेको अण्डाहरू लार्भामा विकसित हुन्छन्, जसलाई ‘व्रिगलर’ भनिन्छ। सामान्यतया, लामखुट्टेको लार्भा पानीको सतहबाट उल्टो झुण्डिन्छ। सीमित गतिशीलताको साथ, व्रिगलरहरूले माछा, भ्यागुता र सलामन्डर जस्ता जीवहरूको लागि सजिलो भोज बनाउँछन्। विभिन्न अनुसन्धान अनुसार तिनीहरूले पानीमा कार्बनिक पदार्थहरू पनि फिल्टर गर्छन्। क्षय भएका पातहरू र अन्य सूक्ष्मजीवहरू पचाउँछन्। नाइट्रोजन र अन्य पोषकतत्वहरू उत्सर्जन गर्छन्। जसले बोटको वृद्धिलाई प्रोत्साहन दिन्छ।
विश्वका विभिन्न संरक्षकका अनुसार लामखुट्टेले पारिस्थितिक भूमिकामा मद्दत गर्दछ। परागकण र अन्य वन्यजन्तुहरूको लागि खाद्य स्रोतको रूपमा सेवा गर्दछ। विश्वास गर्नुहोस् वा नगर्नुहोस्, लामखुट्टे परागकण हुन्। वास्तवमा, लामखुट्टेको प्राथमिक खाद्य स्रोत फूल हो, रगत होइन।
माहुरी वा पुतलीहरू जस्तै, लामखुट्टेहरूले फूलबाट फूलमा पराग स्थानान्तरण गर्छन् र तिनीहरूलाई बीउ बनाउन र प्रजनन गर्न मद्दत दिन्छ। जब पोथी लामखुट्टेले अण्डा दिन्छ तब मात्र उसले प्रोटिनको लागि रगत खोज्छ। भालेहरूले फूलको रस मात्र खान्छन् र कहिल्यै टोक्दैनन्।
लामखुट्टेहरू खानाको जाल, (फुड वेब)को अंश हुन्। जसले पखेटा भएको वयस्क र जलीय लार्भा दुवै प्रकारका अन्य धेरै वन्यजन्तुहरूका लागि ड्रयागनफ्लाइ र कछुवादेखि चमेरो र चराहरूका लागि महत्त्वपूर्ण सिकारको रूपमा सेवा गर्दछ।
सन् २०१९ मा युनिभर्सिटी अफ क्यालिफोर्नियाद्वारा प्रकाशित भएको एक सामग्रीका अनुसार प्लान्थेरा ओबुस्ता अर्किड र एदिस प्रजातिका लामखुट्टे बीचको सम्बन्धलाई देखाइएको छ। जसमा लामखुट्टेलाई प्रभावकारी परागकणको रूपमा प्रस्तुत गरिएको छ। यसको अर्थ लामखुट्टेले फूलहरूमा पराग स्थानान्तरणमा पनि निकै अमूल्य भूमिका निभाउँछन् ।
लामखुट्टेको महत्त्वसँगै यसबाट हुने समस्या पनि छँदैछ। तसर्थ लामखुट्टेबाट जोगिन मानिसहरू विभिन्न किसिममा कीटनाशक प्रयोग गरिन्छ जुन आफैंमा निकै हानिकारक हुन्छन्। तसर्थ हामी लामखुट्टेबाट बच्न घरेलु सावधानी जस्तै झुलको प्रयोग, लामो बाहुला भएको लुगा लगाउने, झ्यालढोकामा जालीको प्रयोग गर्ने र आफ्नो वरिपरिको वातावरण सफा राख्ने आदि गर्न सकिन्छ। पृथ्वी सबैको साझा घर हो र यहाँ हरेक साना तथा ठूला सबै प्राणीको उत्ति नै महत्त्व छ।
(लेखक वातावरण विज्ञानमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन्।)
प्रतिक्रिया 4