
१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए ।
प्रदेश मन्त्रिपरिषद्को गएको भदौ २७ मा बसेको बैठकले अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी काम कारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।
त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।
अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।
प्रतिक्रिया 4