
१३ असोज, काठमाडौं । आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान–प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।
काठमाडौंमा जारी आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीका अवसरमा बुधबार यस्तो सम्झौता भएको हो ।
विभागका अनुसार व्यापारिक गतिविधि एवम् आयात–निर्यात लगायत सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईबीच सम्झौता भएको हो ।
उता, राजस्व चुहावट नियन्त्रणमा सूचना आदान प्रदान गर्ने र अनुसन्धानको प्रभावकारिता बढाउने लगायतका विषयमा आन्तरिक राजस्व विभागले राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीबीच सम्झौता भएको हो ।
व्यवस्थापन गोष्ठीका अवसरमा विभागले मातहतका कार्यगत लक्ष्य हासिल गरेको प्रगतिमा अग्रता कायम गरेका तीन कार्यालयलाई पुरस्कृत गरेको छ । प्रथम भएको आन्तरिक राजस्व कार्यालय इटहरी, दोस्रो भएको कार्यालय आन्तरिक राजस्व भरतपुर र तेस्रो स्थानमा रहेको आन्तरिक राजस्व कार्यालय दाङलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् ।
विभाग र मातहतका कार्यालयले आव २०७८/७९ मा सम्पादन गरेका कार्यको वार्षिक समीक्षा गर्दै चालु आव २०७९/८० को रणनीति र कार्ययोजना तय गर्ने उद्देश्यले काठमाडौंमा गोष्ठी जारी छ ।
प्रतिक्रिया 4