+
+

टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १६:४१

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो ।

दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो नभएपनि प्रतिपक्षमा रहँदासम्म धेरै तिक्ततापूर्ण पनि रहेन । जब २९ जेठ २०७८ मा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्यो, दुबै मन्त्री बन्ने दौडमा होमिए । एउटै क्याबिनेटमा रहँदा पनि उनीहरुबीच बेलाबेला विवाद भइरह्यो । प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने मिति नजिँकिँदै गर्दा उनीहरुले कटुता बढेको छ ।

कास्की-२ (ख) को प्रदेशसभा सदस्यका लागि कांग्रेसको क्षेत्रीय कमिटीले ७ जनाको नाम सिफारिस गरेको छ । तर थापा र खड्काले एकअर्कालाई प्रतिस्पर्धी मानेका छन् र एक अर्काविरुद्ध तिखो टिप्पणी गर्न थालेका छन् ।

सञ्चारमन्त्री थापाले बुधबार पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधारमन्त्री खड्कामाथि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको आरोप लगाए । ७ जनामध्ये जो कोहीले पनि टिकट पाउनसक्ने भन्दै उनले पार्टीको ब्यानरमा भेला गर्नु अस्वस्थ प्रतिस्पर्धाकै नमूना बताए । खड्काप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘विभिन्न कार्यक्रमहरुमा म मुख्यमन्त्री नहुने हो भने टिकट नै लिन्न भन्ने अभिव्यक्तिहरु पनि आइराखेका छन् । यो जायज र सान्दर्भिक हो जस्तो लाग्दैन ।’

भौतिक पूर्वाधारमन्त्री खड्काले अघिल्लो महिना पोखरा महानगरपालिका–१६ मा आफू समर्थित नेता कार्यकर्ताको भेला गरे । त्यस क्रममा उनले आफूलाई प्रदेशको मुख्यमन्त्री बनाउने बचन नदिए प्रदेशसभा सदस्यको टिकट पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि फाल्ने चेतावनी दिएका थिए ।

मन्त्री थापाले अर्का मन्त्री खड्कामाथि आफूलाई राम्रो मन्त्रालय पाउनबाट रोकेको आरोप समेत लगाए ।

पोखरेल नेतृत्वको सरकारले मन्त्रिपरिषद् गठन भएकै केही दिनमा नै बजेट ल्याएको थियो, जसमा वना विभागीय मन्त्री रहेका खड्का हावी भएका थिए । थापाले त्यसबेला पनि बजेट निर्माणमा आफूलाई भूमिका नदिएको गुनासो गरेका थिए । अहिले पनि निर्वाचित सांसदको अवमूल्यन गरेर सरकारमा कमजोर भूमिका दिएको उनको गुनासो छ । ‘बजेट निर्माणमा मेरो भूमिका त भएन नै, तर पाउनुपर्ने अधिकारमा पनि मलाई बञ्चित गराइएको छ’, थापाले भने ।

आफूलाई बजेट र भूमिका भएको मन्त्रालय दिन पार्टी सभापति देउवाले निर्देशन दिँदा पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अवज्ञा गरेको उनले उल्लेख गरे । ‘मुख्यमन्त्री र पार्टी सभापति देउवाको कुरा मेल खाएन । प्रधानमन्त्रीले दिएको निर्देशनको अवज्ञा भएको महसुस गरें’, कांग्रेस नता समेत रहेका मन्त्री थापाले भने, ‘अहिले पनि अस्वस्थ प्रतिस्पर्धामा उत्रिने काम भइरहेको छ ।’

कास्की–२ (ख) को टिकटको दावेदार उनले पार्टीले उम्मेदवार बनाए यो अन्तिम पटक हुने बताए । ‘सबैको साथ र पार्टीले विश्वास गर्‍यो भने दलको नेता हुने बाटो खुला नै छ । १३ महिना मन्त्री हुँदा धेरै अनुभव पनि संगालेको छु,’ थापाले भने ।

पत्रकार सम्मेलनमा उनले ५ वर्षे कार्यकालमा आफूले प्राप्त गरेको सुविधाभन्दा धेरै सामाजिक काममा खर्च गरेको दाबी गरे ।

सांसद र मन्त्रीको सुविधावापत ४० लाख ७१ हजार रुपैयाँ प्राप्त गरेको, तर ५८ लाख २९ हजार रुपैयाँ सामाजिक क्षेत्रमा लगाएको उनले बताए ।

थापाले निर्वाचित हुनुभन्दा पहिले नै आफ्नो सुविधा विकास निर्माण तथा सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । ‘राजनीति मेरा लागि पेशा कदापि होइन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन,’ थापाले भने, ‘प्रदेशबाट प्राप्त आवास सुविधा पनि लिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?