
१४ असोज, काठमाडौं । वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ ।
हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा एभेन्जर इन्टरप्राइज नामक गार्मेन्ट फ्याक्ट्री चलाएका थिए ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्जबाट २ पुरुष र एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ घर भएका रेहान खान, मिहरण मियाँ र सुमी भनिने सुस्मिता छिन् ।
पक्राउ परेकामध्ये खान र मियाँ सुटरलाई हतियार व्यवस्थापन गर्ने कार्यमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुलाई भारतीय नागरिकले हतियार दिएका थिए । वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए ।
अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले २ असोज अर्थात घटनाको अघिल्लो दिन नै सुटरलाई हतियार बुझाएका थिए । त्यसबाट फर्किएका उनीहरु हालै पक्राउ परेका हुन् ।
पक्राउ परेकी अर्की एक महिला भने रेकी गर्न प्रयोग भएको प्रहरीको दाबी छ । उनी लागू औषधसम्बन्धी मुद्दामा जेल समेत परेकी थिइन् ।
प्रतिक्रिया 4