
१४ असोज, रोल्पा । प्यूठानको एक सिँचाइ आयोजना सुरु भएको ४० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतका लागि २०३७ सालमा सुरु भएको आयोजना अझै अधुरो छ ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङ नजिकको लुंग्री खोलाबाट प्यूठानको स्वर्गद्वारी नगरपालिका–५ सारीमा पानी लैजाने उक्त योजनाबाट रोल्पाको साविक मिझिङ गाविसको पल्लो छिर्ने तथा प्यूठान जिल्लाको साविक सारी, बेलवास र वर्जिवाङ गाविसका करिव एक हजार २०० रोपनी खेतमा सिँचाइ गर्ने लक्ष्य थियो ।
रोल्पाको लुंग्री नदीबाट साढे १२ किलोमिटरको नहर बनाइ प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतीयोग्य जमिन सिँचाइ गर्ने गरी आयोजना स्वीकृत भएको थियो ।
आयोजनाको करिव ७५ प्रतिशत काम सकिएको दावी गरिएको छ । तर अन्तिम चरणमा पुगेको आयोजना अलपत्र छाड्दा स्थानीय वासिन्दा आक्रोशित छन् । ठेकेदारको लापरवाही र राजनीतिक दलको इच्छाशक्तिको अभावका कारण निर्माण कार्य अवरुद्ध भएको स्थानीयको भनाइ छ ।
बनेका संरचना संरक्षण गर्न सरकारी स्तरबाट पहल नहुँदा करोडौं खर्चेर बनेका संरचना भत्कदै जान थालेका छन् ।
वर्षेनी ठेकेदार फेरिने र काम सम्पन्न नहुदै भाग्ने गरेकाले आयोजना सम्पन्न हुन नसकेको स्थानीय वासिन्दाको गुनासो छ । स्थानीय मजदुरहरुले महिनौ गरेको कामको पारिश्रमिक समेत नदिएको बताइन्छ ।
आयोजनाका लागि हालसम्म नेपाल सरकारको १४ करोड रुपैयाँ खर्च भइसकेको छ । स्थानीय वासिन्दाले लागत साझेदारीमा ५६ लाख रुपैयाँ भन्दा बढी मूल्यको श्रमदान समेत गरिसकेका छन् ।
‘संघीयताअघि हरेक वर्ष फाट्टफुट्ट बजेट आएपनि संघीयता कार्यान्वयनपछि बजेट आउन छाड्यो’ स्थानीय केशव भण्डारीले भने, ‘सिँचाइ आयोजना आउने भएपछि हौसिएर अब्बल जग्गा दियौं तर बन्ने छाँटकाँट देखिदैन ।’
आयोजनालाई निरन्तरता दिने वा विकल्प खोज्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न डिभिजनल इन्जिनियरको संयोकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल समेत बनेको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा आयोजना अघि बढाउने वा अर्को विकल्प खोज्ने टुंगो लाग्ने स्वर्गद्वारी नगरपालिका-५ का वडाध्यक्ष गिरबहादुर घर्तीमगले भने ।
‘ठूलो आयोजना भएकाले स्थानीय सरकार एक्लैले सो आयोजना सम्पन्न गर्न सक्ने अवस्था नभएकाले प्रदेश र संघीय सरकारलाई गुहारेका छौं।’ वडाध्यक्ष घर्तीमगरले भने ।
प्रतिक्रिया 4