
तपाईं राजेशपायल राईको प्रशंसक हुनुहुन्छ भने यो खबरले तपाईंलाई सुखद आश्चर्यमा पार्नेछ । खबर छ, ‘राजेशपायल राईलाई पुत्रलाभ भएको ।’ काठमाडौंको ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ । स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् ।
राजेशपायलसँग लभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो । यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफट्लाठई अहिलेसम्म अविवाहित भन्दै आएका थिए । हरेक पटकको अन्तर्वार्तामा उनलाई नछुटाइने प्रश्न हुन्थ्यो, ‘विवाह कहिले गर्ने ?’ उनले यसको स्पष्ट जवाफ कहिल्यै दिएनन् ।
यससअघि अनलाइनखबरले राजेशपायल राई र सङबुङबीच प्रेम सम्बन्ध रहेको र उनीहरु चाँडै नै विवाह गर्ने समाचार प्रकाशित गरेको थियो । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई गुपचुप राखे पनि विवाहको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतको भनाइ थियो । यद्यपि विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो । सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ । उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्याहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान् श्रीमती ।’
टिकटकमा सक्रिय सङबुङ राजेशपायलभन्दा २६ वर्ष कान्छी हुन् । उनको उमेर अहिले २० वर्ष छ भने राजेशपायल ४६ वर्षका ।
राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ । राजेशपायलको काठमाडौंमा दुई घर छ्, नक्साल र शान्तिनगरमा ।
बिहे नगरी बुवा बन्ने रहर
अक्सर विवाहको कुरा गर्नासाथ राजेशपायल पन्छिने गर्थे वा हाँसेरै टार्ने गर्थे । कतिपय अवस्थामा चाहिं उनले आफू विवाह नगरी नै सन्तानको बुवा बन्न चाहेको खुलासा गर्थे । एकपटक उनले भनेका थिए, ‘म सेरोगेसीबाट बच्चा जन्माउँ कि भन्ने थियो ।’ त्यति मात्र होइन, उनले यस विधिबाट जुम्ल्याहा सन्तानको बुवा बन्ने इच्छा प्रकट गरेका थिए ।
राजेशपायल भन्थे- घर सम्हाल्ने केटी पाएँ बिहे गर्छु
अनलाइनखबरसँगको कुराकानीमा राजेशपायललाई हामीले उही प्रश्न सोधेका थियौं, विवाह किन नगरेको ?
उनीसँग यसको रेडिमेड जवाफ थियो, ‘अहिलेसम्म पाइएको छैन ।’
दुनियाँमा सबैले विवाहका लागि जोडी पाउँछन्, राजेशपायल राईले किन पाउँदैनन् ? नाम छ, दाम छ, ज्यान छ । आखिर जीवनसंगिनी किन पाइएन ?
हुनेवाला जीवनसाथीको मापदण्ड नै नपुगेर पो हो कि ? ‘होइन, होइन’ उनले तुरुन्तै यो अनुमान खारेज गरेका थिए । ‘यस्तो, उस्तो, यति पढेकी, यति राम्री, यत्तिका हाइट भएकी भन्ने नै छैन ।’
यति भनेर उनी पुरानै शैलीमा एक राउन्ड गज्जबले हाँसेका थिए । ‘हेर्नुहोस्, मैले केटीका लागि क्राइटेरिया तोकेको छैन । चाहे अनपढ होस्, चाहे गरिब होस् । धनी भन्ने त मलाई चाहिंदैन । मैले ऐश्वर्या रायजस्तै खोजेको पनि होइन ।’
प्रश्न उठ्छ, ‘त्यसोभए कस्तो त ?’
‘बुझ्ने हुनुपर्यो’ उनले गम्भीरतापूर्वक जवाफ फर्काएका थिए, ‘समझदार हुनुपर्छ,’ उनले थपे, ‘मलाई पनि दिदीहरुले बिहेकै बारेमा भनिरहनुहुन्छ । तर खै के भएर हो, बिहे गर्ने अवसर नै प्राप्त भएको छैन । मलाई मात्र होइन, अरुलाई पनि यस्तो हुन्छ, सलमान खानले पनि त बिहे गरेका छैनन् । उनलाई के अपुग छ ? धन भने धन छ, नाम भने नाम छ, मान्छे त्यति ह्यान्डसम छन् । तर खै त ?’
यद्यपि गायक राजेशपायलले आश्वस्त पार्न खोज्दै भनेका थिए, ‘अब बिहे गर्ने योजना छ । तर केटी भेटिएको छैन ।’
प्रतिक्रिया 4