
१६ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ । अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.३ प्रतिशतले धेरै हो । आव ०७७/७८ मा २६ हजार ४९८ वटा कम्पनी दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ । कोभिड महामारीपछि सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण पनि कम्पनी दर्ताको क्रम बढेको हो ।
नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनु पर्ने प्रावधान छ । कम्पनी स्थापना गरिसकेपछि कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नुअघि सम्बन्धित निकायबाट अनुमति वा इजाजत लिनुपर्छ ।
नियमनकारी निकायहरुले कम्पनीहरुलाई यस्तो इजाजत दिने गर्छन् । कम्पनीले अनुमति वा इजाजत लिनु अघि आन्तरिक राजस्व कार्यालयबाट स्थानीय लेखा नम्बर लिनुपर्छ ।
प्रतिक्रिया 4