
काठमाडौँ । अन्ततः एसएस राजामौली निर्देशित चर्चित भारतीय फिल्म ‘आरआरआर’ले प्रतिष्ठित ओस्कार अवार्डको यात्रा थालनी गरेको छ ।
निर्माताले विहिबार विज्ञप्ति जारी गर्दै फिल्मलाई ‘इन्डिभिजुअल क्याटेगोरी’मार्फत १४ विधाका लागि आवेदन दिएका हुन् । भारतबाट औपचारिकरुपमा सिफारिस नभएपनि ‘आरआरआर’को ओस्कार सम्भावना भने जीवितै छ ।
उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेतादेखि उत्कृष्ट भिजुअल इफेक्टसम्मका प्राविधिक विधामा फिल्मलाई पठाइएको छ । फिल्मले अमेरिकी वितरकमार्फत ओस्कारमा आवेदन दिएको हो । तर, यसको औपचारिक कुरा चाहिँ द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजको सन् २०२३ को मनोनयन सूचीमा थाहा लाग्नेछ ।
हालै फिल्मलाई हलिउड सहर लस एन्जल्सस्थित चाइनिज थिएटरमा प्रदर्शन गरिएको थियो र पश्चिमा दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पनि प्राप्त गरेको छ । निर्देशक राजामौलीले दर्शकबाट स्ट्यान्डिङ ओभेसन पनि प्राप्त गरेका थिए ।
आरआरआरको अमेरिकी वितरक भेरिएन्स फिल्मसले पनि ओस्कारका १० हजार जना दर्शकमाझ फिल्मलाई सहभागिता गराउनेबारे अभियान चलाउने बताएको थियो । निर्देशक राजामौलीले ओस्कारमा सहभागि भएपनि वा नभएपनि आफ्नो काम गर्ने शैलीमा कुनै परिवर्तन नहुने बताएका छन् ।
प्रतिक्रिया 4