
२१ असोज, काठमाडौं । एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो । आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगे ।
यसअघि एमालेसँग छलफल गर्न गठित कार्यदलका संयोजक राजेन्द्र महतो भने बिसञ्चो दर्शाउँदै अनुपस्थित रहे । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू भेट्दै लोसपाका नेताहरूले मधेसमा नयाँ परिस्थिति विकसित भएको भन्दै गठबन्धनमा सहभागी हुने आकांक्षा देखाएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनले उनीहरूलाई ‘ग्रीन सिग्नल’ दिएको छ ।
यही ‘टोन’मा बैठक अघि बढे गठबन्धनमा लोसपाको प्रवेश हुन सक्ने यसका नेताहरुले अनलाइनखबरलाई बताएका छन् ।
‘आजको छलफल हामीले सोचेअनुरुप सकारात्मक छ,’ लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले भने, ‘हामी यसैको स्पिरिटमा निष्कर्ष निकाल्छौं ।’
आसन्न संघ प्रदेश चुनावमा लोसपाले कति संख्यामा सिट पाउनेछ र सहमतिको मोडालिटी के हुनेछ भन्नेबारेमा बैठकमा सहभागी नेताहरुले मुख खोल्न मानेनन् ।
स्रोतका अनुसार उनीहरूले संघमा १५ सिटभन्दा माथि र प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् । ‘अध्यक्ष (महन्थ ठाकुर) जीसँग यही कुरा भएको थियो, हामीले त्यसैलाई बैठकमा राख्यौं,’ बैठकबाट फर्कने क्रममा ती नेताले भने ।
उनका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुन सक्नेछ । गठबन्धनमा रहेको एक घटक जसपाले प्रतिपक्षी दल नेकपा एमालेसँग नयाँ सहमति गरेसँगै मधेस राजनीति तरंगित भएको छ । यसले गठबन्धन पनि विभाजित भएको छ ।
प्रतिक्रिया 4