
२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी गरेको छ ।
बादललाई उम्मेदवार बन्न अध्यक्ष केपी शर्मा ओलीले नै आग्रह गरेका थिए । स्रोतका अनुसार, बादलले पनि चुनावमा उम्मेदवार लड्ने संकेत दिएका छन् । ‘गए राति (बिहीबार) अबेरसम्म चलेको छलफलले त्यही निष्कर्ष निकालेको छ’, स्रोतले भन्यो ।
यसअघि एमाले उपाध्यक्ष बादलले कतैबाट चुनाव नलड्ने बताएका थिए । चितवन–२ मा कृष्णभक्त पोखरेलको बलियो पकड रहेकाले बादलले त्यहाँ जान चाहेनन् । त्यसपछि बादलकी पत्नी नैनकला थापालाई समानुपातिकतर्फ राखिएको थियो ।
नैनकलाको नाम एमालेले आदिवासी महिलातर्फ एक नम्बरमा राखेको छ । ‘अहिले फेरि बादलले चुनाव लड्नुपर्छ भन्ने आयो, सम्भवतः उहाँ नै उम्मेदवार हुनुहुन्छ होला’ स्रोतले भन्यो ।
यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।
यो पटक एमालेबाट सुरेन्द्र मानन्धर दावेदार थिए । उनीसँगै कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, नेताहरु गञ्जुमान सिंह र रामशरण आलेमगर पनि आकांक्षी थिए ।
प्रतिक्रिया 4