
काठमाडौं । एसियाकै प्रतिष्ठित मानिने बुसान फिल्म फेस्टिभल यतिबेला दक्षिण कोरियामा भैरहेको छ । सन् २०२२ को यो संस्करण किन पनि महत्वपूर्ण थियो भने कोरोना महामारीपछि भौतिकरुपमै महोत्सव आयोजना गरिएको थियो ।
फेस्टिभलमा सुनमा सुगन्ध थप्ने काम गर्यो विश्वभर पर्खाइमा रहेको हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले । निर्माता जोन लेन्डुको उपस्थितीमा बुसानका सीमित दर्शकमाझ अवतार २ को भव्य प्रिमियर गरिएको छ ।
नेपालमा भने यो फिल्म पुस १ गते प्रदर्शन तयारीमा छ । प्रत्येक दर्शकले ५ डलर तिरेर फिल्म हेरेका थिए । बुसानको उक्त प्रिमियर संस्करण सोल्डआउट भएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।
‘अवतार २’को बुसान प्रिमियरको अर्थ हलिउडको भविष्य एसियाली बजारमा निर्भर पनि छ भन्ने हो । प्रिमियर मेसोमा आयोजित कार्यक्रममा अवतार निर्माता लेन्डुले दोस्रो भाग कसरी रचियो र प्राविधिकरुपमा यसको पक्षबारे दर्शकलाई प्रकाश पारेका थिए ।
दक्षिण कोरियालाई अवतारमय बनाउन वितरण कम्पनी डिज्नेले त्यहाँको हुन्डाइ समुन्द्री किनारमा फिल्मका पात्रका आकृति खडा गरेर तथा पोस्टर बनाएर दर्शकलाई आकर्षित गरेको थियो ।
अवतारको दोस्रो भागमा मुख्य चरित्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् ।
उक्त प्रिमियरमा भिडियो सम्बोधन गर्दै निर्देशक जेम्स क्यामरुनले अवतार २ ले विश्वको सामुन्द्रिक पारिस्थितीकय प्रणाली कसरी संकटमा पर्दैछ भन्ने कुराको सन्देश दिन खोजेको बताए । यसअघि पाण्डोरा नामक काल्पनिक ग्रहमा प्राकृतिक स्रोतको दोहनबारे चित्रण थियो ।
‘यो पाण्डोराको कथा हो तर, यो सबथोक हाम्रै संसारमा भैरहेको छ’ क्यामरुनले भने । निर्देशक क्यामरुन र निर्माता लेन्डुले अवतार २ बाट दर्शकले सिनेम्याटिक अनुभव लिन सक्ने बताए ।
प्रतिक्रिया 4