
२३ असोज, काठमाडौं । चितवन- १ मा नेकपा एमालेका उपाध्यक्ष सुरन्द्र पाण्डे र हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्वनाथ पौडेलबीच चुनावी भिडन्त हुने भएको छ । दुबै नेता अर्थतन्त्र र अर्थशास्त्रका अब्बल मानिन्छन् ।
एमाले नेता पाण्डे पूर्व अर्थमन्त्री तथा चितवन-१मा निर्वतमान सांसद समेत समेत हुन् । योजना आयोगका उपाध्यक्ष रहेका डा. पौडेल युवा अर्थशास्त्री हुन् ।
एमाले नेता पाण्डे ०५४ देखि ०६० सम्म राष्ट्रियसभा सदस्य थिए । चितवनको राप्ती नगरपालिकाका निवासी पाण्डे २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फबाट सभासद थिए ।
०६६ सालमा माधवकुमार नेपालको प्रधानमन्त्री कालमा उनी अर्थमन्त्री भएका थिए । पाण्डे यसअघि माधवकुमार नेपालको गुटबाट एमालेमा सक्रिय थिए । नेपालले नयाँ पार्टी खोलेपछि उनी १० बुँदे सहमति पक्षधरका रुपमा एमालेमै बसेका थिए । पाण्डेले २०७० को संविधानसभा सदस्य र २०७४ को संसदीय चुनाव चितवन-१ बाटै जितेका थिए ।
सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट दिन आनाकानी गरे पनि शनिबार उनले एमालेबाट फेरि चुनाव लड्ने पक्का भएको थियो ।
चितवन-१ मा कांग्रेसबाट डा. स्वणिर्म वाग्ले उम्मेदवार बन्ने चर्चा थियो । तर, योजना आयोगको उपाध्यक्ष रहेका पौडेलले पनि चुनाव लड्न इच्छा देखाएका थिए ।
प्रधानमन्त्रीसँग निकट सम्बन्ध बनाएका पौडेलले नै आइतबार चितवन-१ मा चुनाव लड्ने गरी टिकट पाएका छन् । रत्ननगर नगरपालिका घर भएका पौडेलले संसदीय चुनावबाटै सक्रिय राजनीति सुरु गर्नेछन् । उनी सत्ता गठबनधनका तर्फबाट उम्मेदवार हुनेछन् ।
युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।
उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका पौडेलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।
अर्थमन्त्री भएसँगै आफ्नो विषयमा गहिरोगरी पकड बनाएका एमालेका प्रभावशाली नेता, अनि प्राज्ञिक पृष्ठभूमि बनाउँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेलबीचको भिडन्त यसपल्टको चुनावमा हेर्नलायक हुनेछ ।
प्रतिक्रिया 4