
२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदामा पनि कल सेन्टर सञ्चालन गर्यो । ९ दिनको दशैं बिदामा ६९५ जनाले कल सेन्टरमा फोन गरेको पाइएको छ ।
महानगरका अनुसार फोन गर्ने अधिकांशले सिटामोल नपाएको गुनासो गरेका थिए । मासु पसलेले कुहिएको मासु बेचेको भन्दै कारबाहीका लागि महानगर गुहारेको पनि पाइएको छ ।
दिनमा भन्दा रातको समयमा टेलिफोन गर्नेको संख्या बढी रहेको महानगरले जनाएको छ । १४ असोजदेखि २२ असोजसम्म ६९५ जनाले फोन गरेकोमा दिनमा १५७ जनाले र रातको समयमा ५३८ जनाले टेलिफोन सम्पर्क गरेका थिए ।
कल सेन्टर स्वास्थ्यतर्फका फोकल पर्सन ऋषि भुसालका अनुसार धेरै फोन गर्नेमा डेंगु रोगसँगै सम्बन्धित थिए । डेंगु रोगको लक्षण सोध्ने, औषधिको नाम सोध्ने, सिटामोल पाइएन कहाँ पाइन्छ भनेर सोध्ने, खान हुने र नहुने खानेकुराको नाम सोध्ने, कति दिनमा रोग निको हुन्छ ? भनेर सोध्ने व्यक्तिको कल धेरै आएको उनले बताए ।
७९ जना डेंगुका बिरामीलाई अस्पताल भर्ना
महानगरको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले १०-२२ असोजसम्म ७९ जना डेंगुका बिरामीलाई अस्पताल पुर्याएको छ । एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमीत जोशीकाअनुसार यसअवधिमा अस्पताल लगिएका २५३ बिरामीमध्ये ७९ जना डेंगुका बिरामी थिए ।
काठमाडौं महानगरले दशैं विदाका बेला पर्न सक्ने समस्या समाधान गर्न ११८० टोल फ्रि नम्बरलाई २४ सै घण्टा सञ्चालन गरेको थियो । दिनमा कल सेन्टरबाट र रातको समयमा कल फरवार्ड गरेर प्रश्नकर्ताको प्रश्नको जवाफ दिइएको थियो ।
महानगरले संक्रमण रोकथाम र नियन्त्रणका कामलाई निरन्तरता दिँदै पर्वका अवधिमा महिला स्वास्थ्य स्वयंसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको थियो । महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
प्रतिक्रिया 4