
२३ असोज, रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गएका हुन् ।
समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका उनले केन्द्रीय गठबन्धनले रोल्पा प्रदेशसभा (ख) कांग्रेसलाई दिएकोमा असन्तुष्टि जनाए । २०७४ सालको निर्वाचनमा जसले जहाँ जितेको हो यसपटकको निर्वाचनमा समेत उही पार्टीले उम्मेदवारी दिने भनिए पनि रोल्पामा त्यसो नभएको उनको भनाइ छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा समेत कांग्रेसले नेकपा एमाले र विप्लव नेतृत्वको नेकपासँग गठबन्धन गरी माओवादी हराउने अभियानमा लागेको उनको आरोप छ ।
पुनले आफू आवद्ध दल नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य तथा जनक्रान्तिका घाइते, अपांग संगठन र त्यसको इन्चार्जवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।
पुन २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4