
२५ असोज, वीरगञ्ज । पर्सामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका जुनसुकै नेताले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत गठबन्धनले दिएको छ ।
सोमबार वीरगञ्जमा बसेको एमाले-जसपा गठबन्धनको बैठकले पार्टीबाट वागी भई उम्मेदवारी दिनेहरुलाई आ-आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिए कारवाही गर्ने निर्णय गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।
‘साथीहरूलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने भ्रम परेको हुन सक्छ, त्यसबारेमा आ-आफ्नो पार्टीमा कुरा राख्ने ठाउँ छ’, उनले भने, ‘पार्टीको सिपाही भएका नाताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुहुन्छ र गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचित गराउन खटिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’
जसपा नेता करिमा बेगमले पर्सा-२ (ख), जन्नत अन्सारीले-१ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै रुपेशमान सिंह, मुकेश द्विवेदीलगायतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची सार्वजनिक नगरेकाले बागी उम्मेदवारी दिनेहरुको संख्या यकिन हुन सकेको छैन ।
बैठकले गठबन्धनका संयुक्त उम्मेदवारलाई जिताउन १२ सदस्यीय निर्देशन समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया 4