
२५ असोज, विराटनगर । ४ मंसिरमा हुने चुनावमा प्रदेश १ का मुख्यमन्त्रीसहित १० जना मन्त्री पुनः उम्मेदवार बनेका छन् । मुख्यमन्त्री राजेन्द्र राईसहित ९ जना मन्त्री प्रदेशमा र एक जना मन्त्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल पूरा गरेका ९३ प्रदेशसभा सदस्यमध्ये २९ जना पुनः प्रदेशसभाको उम्मेदवार बनेका छन् । दुई पूर्वमुख्यमन्त्री सहित चार जना प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राईले भोजपुर र दोस्रो मुख्यमन्त्री भीम आचार्य सुनसरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । प्रदेशका पूर्वमन्त्री जगदिश कुसियत सुनसरी–४ र वर्तमान खानेपानी तथा सिँचाइ मन्त्री रामकुमार राई नेकपा माओवादी केन्द्रबाट खोटाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
नेकपा एकीकतृ समाजवादी पार्टीका सचिव तथा मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा (क), माओवादी नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो पाँचथरको (क), स्वास्थ्य मन्त्री तथा जसपा नेता जयराम यादव मोरङ-५ (ख), माओवादी नेता तथा कृषिमन्त्री झलकबहादुर मगर झापा–४ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन्् ।
वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा कांग्रेसबाट मोरङ–३ (क), पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा नेकपा एकीकृत समाजवादीबाट इलाम–१ (क) बाट उम्मेदवार बनेकी छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की कांग्रेसबाट उदयपुर–१ (क), आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की कांग्रेसबाट मोरङ–६(ख) बाट उमेदवार बनेका छन् ।
सामाजिक विकासमन्त्री एकीकृत समाजवादीका नेता राजन राई, कांग्रेस नेता भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी र उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले टिकट नै पाएनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेले पनि प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएकी छैनन् ।
को-कहाँ दोहोरिए ?
पाँच वर्षअघि २१ सिट जितेको नेपाली कांग्रेसबाट ४ जना, १६ सिट जितेको माओवादीबाट ७ जना, १० सिट भएको एकीकृत समाजवादीबाट ४ जना र ३ सिट जितेको जसपाबाट एक जनाले दोहोरिएर प्रदेशसभा सदस्यमा पुनः उम्मेदवारी दिएका छन् । ४१ सांसद जितेको नेकपा एमालेबाट १३ जनाले प्रदेशसभा सदस्यमा पुनः उम्मेदवार बनेका छन् ।
एमालेबाट प्रदेशतर्फ ओखलढुंगामा प्रदेशसभा (क) मा अम्बिरबहादुर गुरूङ, तेह्रथुम (ख) मा तेजमान कन्दङ्वा, इलाम–२(ख) मा राम राना, मोरङ–२ (ख) मा लिलाबल्लभ अधिकारी, मोरङ–४(ख) मा जीवन घिमिरे पुनः उम्मेदवार बनेका छन् ।
झापा–२ (क) मा एकराज कार्की, झापा–३ (क) मा बसन्त बानियाँ, झापा–५ (क) मा हिक्मत कार्की पुनः उम्मेदवार बनेका छन् । धनकुटा (क) बाट निरन राई र (ख) बाट इन्द्रमणि पराजुली पनि प्रदेशसभामा उम्मेदवार दोहोरिएका छन् । सोलुखुम्बुमा गत चुनावमा निर्वाचित उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारी पुनः उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला सुनसरी– २ (ख) बाट पुनः उम्मेदवार भएका छन् । मोरङ–३ (क) मा शेखरचन्द्र थापा, मोरङ–६ (ख) मा केदार कार्की र उदयपुर–१ (ख) मा हिमाल कार्कीले दोस्रो पटक टिकट पाएका छन् ।
माओवादी केन्द्रबाट झापा–३ (ख) मा पूर्णसिंह राजवंशी, झापा–४ (क) मा झलकबहादुर मगर, मोरङ–१ (क) मा कुलप्रसाद साम्बा, सुनसरी–३ (क) मा सरस्वती पोखरेल, धनकुटा (ख) मा कुसुमकुमारी श्रेष्ठ, उदयपुर–१ (क) मा नारायण बुर्जा मगर दोस्रो पटक उम्मेदवार बनेका छन् ।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री राजेन्द्रकुमार राई, मन्त्री खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे र सरिता थापा पुनः उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया 4