
२५ असोज, काठमाडौ । काठमाडौं महानगरपालिकाले पर्व लक्षित र नियमित अनुगमनलाई निरन्तरता दिने भएको छ । अनुगमन समिति संयोजक उपप्रमुख सुनिता डंगोलले महानगरले अनुगमन नियमित गर्ने र चाडपर्व लक्षित गरेर विशेष अनुगमन गर्ने बताएकी हुन् ।
दशैं लक्षित अनुगमनको समीक्षा बैठकमा उनले दशैंलक्षित अनुगमनका सवल पक्षलाई सिकाइका रुपमा ग्रहण गर्नुपर्ने भन्दै त्यसका कमजोरीलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।
‘अनुगमनमा जानुअघि पसलहरुमा हेरिने व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय दर्ता नगर्दा हुने जरिवाना सम्बन्धी सूचना हरेक व्यवसायीले थाहा पाउने गरी प्रकाशन गर्नुपर्छ,’ उपप्रमुख डंगोलले भनिन् ।
प्रक्रियाका विषयसँगै एकीकृत बजार अनुगमनमा जोड दिइन् । अनुगमनका नाममा एकै ठाउँमा धेरै समूह पुग्दा व्यापारिक क्षेत्रमा नकारात्मक सन्देश जाने हुँदा सरोकारवाला सबै एउटै टोलीमा सामेल भएर जानुपर्ने उनको भनाइ थियो ।
‘बजारका सानासाना पसलमा पनि ठूला ठूला समस्या हुन सक्छन् । खानासँग सम्बन्धित विषय संवेदनशील हुन्छ । यस्ता विषयलाई गम्भीरताका साथ हेर्नुपर्छ,’ बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बैठकमा भने, ‘धेरै व्यक्तिलाई एकै पटक नकारात्मक प्रभाव पार्न सक्ने क्षेत्रलाई अनुगमनको प्राथमिकतामा राख्नुपर्छ । अनुगमनको प्रक्रिया, यस क्रममा हुने कारवाहीको विषयमा कहींकतैबाट पनि प्रश्न उठ्नु हुँदैन ।’
महानगरअनुसार पर्वलक्षित अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु विक्री वितरण हुने ठाउँ, माछा मासु पसल, डिर्पान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु तथा फलफूल बजार हेरिनेछन् ।
योजना, अनुगमन तथा मूल्यांकन एकाईले विभिन्न ७ वटा निर्धारण गरेर नियमित अनुगमनको योजना बनाएको छ । एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले हरेक क्षेत्रमा सम्बन्धित विषय विज्ञ र सरोकारवालालाई सहभागी गराएर अनुगमन गर्ने योजना बनाएको जानकारी दिए ।
यसरी निर्धारण गरिएको क्षेत्रमा माछामासु तथा दूग्ध पदार्थ, डेरी तथा मिठाई, दैनिक खाद्यवस्तुहरुमा तरकारी, दाल, चामल तथा फलफूल, औषधिजन्य, पूर्वाधार, निर्माणजन्य सामग्री, लत्ताकपडालगायतका छन् ।
प्रतिक्रिया 4