+
+

प्रभु साहले ‘आफ्ना’ भनेका धनुषाका २ उम्मेदवारले भने- हामी प्रभु साहसँग छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १२:२१

२६ असोज, जनकपुरधाम । नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले केही उम्मेदवारहरुको नामावली सञ्चारकर्मीहरुलाई पठाउँदै ती आफ्नो समूहका भएको दाबी गरेका छन् । तर उनले ‘आफ्ना’ भनेका धनुषाका दुईजना प्रतिनिधि सभा सदस्यहरुले भने आफूहरु प्रभु साहको समूहमा नरहेको बताएका छन् ।

धनुषाको क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका किशोरी साह र धनुषाको क्षेत्र नं.४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण कुमार महतोले आफूहरु प्रभु साहको समूहको नरहेको बताएका हुन् ।

धनुषाको क्षेत्र नं. १ बाट एमाले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएको भनिएका किशोरी साहले जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । धनुषा १ (क) का प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद समेत रहेका साहलाई एमालेले टिकट नदिएपछि विद्रोह गर्दै जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवारी दिएको उनले बताए । ‘म प्रभु साहको उम्मेदवार होइन । नत म उहाँसँगै एमालेबाट विद्रोह गरेको हुँ । म एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेको हुँ,’ उनले भने ।

यस्तै धनुषाको क्षेत्र नं.४ बाट स्वतन्त्र उम्मेदवारी दिएका यस क्षेत्रका चर्चित हाँस्य कलाकार कृष्ण कुमार महतोले पनि आफू प्रभु साह समूहमा नरहेको बताए । आफ्नो विषयमा प्रभु साहले गलत प्रचार गरेको भन्दै उनले, कुनै संगठन र व्यक्तिको उक्साहटमा नभएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए ।

‘मैले कहिल्यै कुनै दलको झण्डा बोकिनँ । कलाकार मान्छे हुँ । जनताको चाहना अनुसार मैले आफ्नो उम्मेदवारी दिएको हुँ । प्रभु साह वा उनका कुनै मान्छेसँग यो विषयमा कुरा भएको छैन’ उनले भने ।

यस विषयमा बुझ्न खोज्दा प्रभु साहले फोन उठाएनन् । उनका मुख्य सहयोगी आईटी आर्मीका संयोजक चन्द्रभुषण साहले पनि आफू भिडभाडमा रहेको भन्दै कुरा गर्न मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?