+

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको लगातार दोस्रो जित, सम्झनाको अर्धशतक

२०७९ असोज  २६ गते १२:२० २०७९ असोज २६ गते १२:२०
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको लगातार दोस्रो जित, सम्झनाको अर्धशतक

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार भएको समूह बीको खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ११८ रनको फराकिलो अन्तरले हरायो ।

पुलिसले दिएको १५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ४० रन मात्र बनाउन सक्यो ।

राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीसहित प्रदेश १ र सुदूरपश्चिम प्रदेशका खेलाडीहरु समावेश गर्दै पहिलो पटक महिला क्रिकेट टिम बनाएको पुलिसले दुई जितबाट ४ अंक जोडेको छ । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो ।

सम्झनाको पहिलो अर्धशतक

नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटतर्फ सम्झना खड्काले पहिलो अर्धशतक प्रहार गरिन् । उनकै अर्धशतक मद्दतमा पुलिसले ३ विकेट गुमाएर १५८ रन बनाएको थियो । सम्झनाले ४३ बल खेल्दै १० चौका मद्दतमा सर्वाधिक ६० रन बनाइन् ।

ओपनर काजल श्रेष्ठ ६ रनमै आउट भएपछि सम्झनाले दोस्रो विकेटका लागि अर्का ओपनर कविता कुँवरसँग दोस्रो विकेटका लागि ७७ रनको साझेदारी गरिन् । कविताले २८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३७ रन जोडिन् ।

सम्झनाले १७औं ओभरको अन्तिम बलमा रनआउट हुनुअघि तेस्रो विकेटका लागि अप्सरी बेगमसँग ४२ रनको साझेदारी गरिन् । अप्सरीले २० बल खेल्दै २ चौका मद्दतमा अविजित २१ रन बनाइन् ।

कप्तान रुबिनाले १४ बलमा २ चौका प्रहार गर्दै अविजित १६ रन जोडिन् ।

प्रदेश १ का लागि निशा शाहले १ विकेट लिइन् ।

हिरनमईको उत्कृष्ट बलिङ

पुलिसले बनाएको १५८ रन नवौं राष्ट्रियको सर्वाधिक स्कोर थियो । ठूलो स्कोर पछ्याउने क्रममा प्रदेश १ का ब्याटरले पुलिसको बलिङ सामु संघर्ष गर्नुपर्‍यो । पूरै २० ओभर खेले पनि प्रदेश १ ले ४० रन मात्र बनाउन सक्यो ।

प्रदेश १ लाई कम स्कोरमा रोक्न हाल पुलिसबाट खेलिरहेकी प्रदेश १ की युवा स्पीनर हिरनमइ रोयले सर्वाधिक ३ विकेट लिइन् । उनले ३ ओभरमा १ मेडन राख्दै जम्मा ५ रन खर्चिन् ।

यस्तै सबनम राई, कविता कुँवर र कविता जोशीले समान १ विकेट लिए । प्रदेश १ का लागि ओपनर लतिका राजवंशी र कप्तान सानु राजवंशीले सर्वाधिक ११-११ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय