
२६ असोज, चितवन । चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेले भने कोइरालालाई समर्थन गर्र्दै उम्मेदवारी फिर्ता लिएको छ । यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसअघि उनले भरतपुर महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला भुइँकटहर चुनाव चिह्न पाएका उनले अहिले भने सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् ।
त्यस्तै चितवन-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न नै पाएका छन् । कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया 4