
दोबाटोमा साथ छुटेपछि
एक्लिएको उसको मन
अझै पनि एक्लिएको एक्लिएकै छ
झिलीमिली बजारमा उसले
रंगहरु नदेखेको होइन
झमक्क साँझ पर्दा नपर्दै बज्ने
मधुर भाकाहरु नसुनेको होइन
उसका लागि ती सबै अर्थहीन छन्
नाच्न, गाउन र रमाउन
बिर्सिएको उसले
अझै पनि बिर्सिएको बिर्सिएकै छ
पूर्णबाट पूर्ण घटाउँदा पूर्ण नै हुन्छ
संसारमा कुनै प्राणी आधा हुँदैन
मन चंख गर्न कुनै पनि बाधा हुँदैन
भन्नु मात्र त रहेछ आखिर
चर्किएको उसको छाती
अझै पनि चर्किएको चर्किएकै छ
घोचिरहन्छन् उसलार्इ
सिरुपाते, लज्जावती र गुलाफका
काँडाहरुले पनि पलपल
घाँटीसम्म अड्किएको उसको बह
अझै पनि अड्किएको अड्किएकै छ
मानिस मानिसवीच उचनीच हुँदैन
मन मिलेपछि प्रेम क्षीण हुँदैन
भन्नु मात्र त रहेछ आखिर
तुँवालोले ढाकिएको उसको आकाश
अझै पनि ढाकिएको ढाकिएकै छ
अम्ल वर्षा हुन्छ अन्धाधुन्ध
मनबारीमा कुनै बीज उम्रन्न
आफैंसँग टाढिएको उसको मन
अझै पनि टाढिएको टाढिएकै छ
उसलार्इ बोक्ने गाडी धेरै दौडिसकेछ
अलपत्र छाडिएको उसको मन
अझै पनि छाडिएको छाडिएकै छ
संसारभर पूरै कहिल्यै रात हुँदैन
भाग्य र भविष्य सबै जन्मजात हुँदैन
भन्नु मात्र त रहेछ आखिर
अप्राप्तिले छड्किएको उसको मन
अझै पनि छड्किएको छड्किएकै छ
भेरीले पक्कै बिर्सन्न होला
भीरले पनि बिर्सन्न होला
क्रूर भीडद्वारा लखेटिएको उसको मन
अझै पनि लखेटिएको लखेटिएकै छ
रीत, खोला, पहाड र समयले
बेग्लिएको उसको मन
अझै पनि बेग्लिएको बेग्लिएकै छ
अझै पनि एक्लिएको एक्लिएकै छ ।।
प्रतिक्रिया 4