
एउटा पार्टीको सभापति
अर्कै पार्टीको उम्मेदवार
न लाज, न सरम !
टाउकोको मूल्य तोक्नेहरू
र
मूल्य तोकिनेहरूको
एउटै साझा टाउको
अत्याधुनिक भारण्ड !
ऊबेला गाउँघरमा पानी बाराबार
मेलापर्म र परेली ब्रेकअप
जहाँ जो भेटियो
त्यहीं त्यसैको कत्लेआम
आजभोलि भागशान्ति जिन्दावाद !
टाउको टाउको एक
हातको मात्रै हात हालाहाल
बिचरा खुट्टालाई मात्रै सास्ती !
खल्तीमा पट्याएर
एउटा पार्टीको उम्मेदवारी
दर्ता गर्न जाने दौडमा
बेला लगभग बिताएर
अर्कै पार्टीबाट उमेदवार !
घर पोलेर खरानी
हाँकोडाँको चाहिं
घर छोड्दिनँ !
अहँ,
घरभित्रै बस्छु
हुनुपर्यो नि घर !
आफ्नै पार्टीको उम्मेदवारलाई
बलजफ्ती गलहत्ती
अर्काको पार्टीको विद्रोहीलाई
टोपी, फेटा र सिन्दूर !
पार्टीको टिकट
इष्टकोटको खल्तीमा
स्वतन्त्रको नौटंकी
अझै त्यही नौटंकीमा
साथ, सहयोग र समर्थन !
नाम स्वतन्त्र
हल्ला स्वतन्त्र
अनि फेरि पार्टी
दौरा न सौराको खल्ती !
धन्दा लुटतन्त्र
नाम स्वतन्त्र
आधा समर्थन एउटा गठबन्धन
आधा समर्थन अर्को गठबन्धन
नाटकीय निर्विरोध !
विरोधीको चर्को विरोध गर्ने
अर्को विरोधी भेटिए
त्यसैलाई समर्थन
लोकतन्त्रको अट्टाहास !
भजन नगाउने
विचार बोक्ने
र
आस्थाको कुरा गर्नेलाई
आफ्नै भए पनि
सत्तोसराप र पत्तासाफ
बदनाम समय !
आफन्तहरू कोटामाआफूहरू सुरक्षित
घुर्क्याउने प्राय: खत्रामा
कस्तो वैज्ञानिक वितरण प्रणाली
आफ्नै हात- जगन्नाथ !
विरोध वंश परम्पराको
व्यवहारमा त्यही कायम
स्वस्थानीका चार रोटी
जतिसम्झ्यो उति पीडा !
तीन पुस्तालाई
एउटै उम्मेदवार
चौरासीपूजाको तयारी
फेरि पनि उम्मेदवारी
लज्जाम् शरणम् !
काम स्वेच्छाचारी
बोलीमा खिसीट्युरी
झुटैझुटको पुलिन्दा
दम्भको हजुरबा !
प्रतिक्रिया 4