
३० असोज, काठमाडौं । सत्यमोहन जोशी थिए पढालेखा शिक्षित । उनकी पत्नी राधादेवीले चाहिँ साँवा अक्षर चिनेकी थिइनन् । सत्यमोहनले आफ्नो प्रगतिमा सदैव पत्नीको योगदान रहेको बताउने गर्थे ।
आइतबार बिहान उनको देहान्त हुँदा पत्नी राधादेवी शोकविह्वल मुद्रामा किस्ट अस्पताल पुगेकी थिइन् ।
आफूभन्दा चार वर्ष कान्छी तिनै राधादेवीको जीवनी प्रकाशन गर्न सत्यमोहनले केही लेखकहरुलाई अनुरोध गरेका थिए । चार वर्षअघि सत्यमोहनले भनेका थिए, ‘यिनले घर सम्हालिन्, छोराछोरी पढाइन् । तब त मैले अध्ययन, अनुसन्धान गरेर हिँड्ने मौका पाएँ ।’
राधादेवीले उनका हरेक काममा सहयोग गरिन् । श्रीमती राधाको सहयोगबिना सफलता असम्भव रहेको भन्दै सत्यमोहनले भनेका थिए, ‘छ जना छोराछोरीलाई स्याहार गर्न, पढाउन सजिलो थिएन तर पनि उनले मसँग गुनासो नगरी नै यो काम गरिन् ।’
त्यसबेला सत्यमोहन जोशीले श्रीमती राधाको बारेमा भनेका थिए, ‘उनी अत्यन्तै संयमित र लगनशील छिन् । पढेकी छैनन् तर धेरै कुरा भोगेकी छिन्, देखेकी छिन् । छ जना छोराछोरी एक्लै हुर्काउनु सामान्य हैन । त्यसैले उनको जीवनी लेखिदिने मानिसको खोजीमा छु । केही जनालाई प्रस्ताव गरेको छु ।’ तर उनको जीवनकालमा उनको त्यो सपना पूरा हुन सकेन ।
बासँग कहिल्यै रिस उठेन भनेर राधा जोशीलाई प्रश्न गर्दा उनले जवाफ दिएकी थिइन्, ‘रिसाउने समय नै थिएन । कति दिन, महिनामा घर आउँथ्यो फेरि गइहाल्थ्यो । अनि के रिसाउनुजस्तो लाग्थ्यो । अब त झन् रिसाउँदा म सँग बोलेन भने जस्तो लाग्छ ।’ राधा जोशी गत जेठदेखि ९९ वर्षमा पुगेकी छिन् ।
जोशी दम्पतीले ८७ वर्षको दाम्पत्य जीवन साथसाथै बिताए । मानिसको आयु मनको खुशी र चिन्तनले बढाउने विश्वास गर्थे सत्यमोहन । मान्छेले आफ्नो चेतना स्तर अनुसार धर्मलाई जीवनमा धारण गर्ने हुनाले यस्ता कुराहरु स्वतन्त्र रुपमा छाडिदिनुपर्ने उनको बुझाइ थियो ।
सत्यमोहनका अनुसार अझ बुढ्यौली उमेर भएकाहरुको लागि अध्यात्ममाथिको विश्वास एकदमै फाइदा जनक हुन्छ, स्वस्थ्यको हिसाबले, चिन्तनको हिसाबले । यस्ता आध्यात्मिक क्रियाकलापहरुले चिन्ताबाट मुक्त गराई चिन्तन गर्न सिकाउँछ ।
सत्यमोहनको घरमा साँझ चारबजेदेखि ६ बजेसम्म वरपरका बुढ्यौली उमेरकाहरु नामः संगतीः गर्न जम्मा हुन्छन् । यसले राधादेवीलाई बाँच्न प्रेरित गरेको र मृत्युदेखि निडर बनाएको सत्यमोहनको बुझाइ थियो ।
सत्यमोहनले भनेका थिए, ‘अध्यात्मले पनि मान्छेलाई खुशी बनाउँछ । करिव ३५ वर्ष अघिदेखि संस्कृत भाषाको गीत सुनेर एक घन्टा ध्यान गरेर बस्छ । त्यसो गर्दा उनी खुशी हुन्छिन् त्यसले पनि उनलाई यत्तिको फुर्तिलो बनाएको छ ।’
श्रीमती राधाको बुझाइ, भोगाइ पुस्तकको रुपमा ल्याउँदा समाजलाई केही न केही ज्ञान दिने सत्यमोहनले बताएका थिए ।
सत्यमोहनले लोक साहित्यमा खोज अनुसन्धान गरे । तर माया प्रेमका गीत संगीतले कहिल्यै छोएन । जहिल्यै विम्बात्मक लोकगीतहरु सुने, खोजे, गाए । तर सत्यमोहनलाई जीवनसाथी राधादेवीको मायाप्रेम भने औधी लाग्ने सुनाएका थिए ।
उनले भनेका थिए, ‘सानैमा विहा भयो ।, सधैं साथ दियो यत्रो वर्षदेखि साथमा छौं । धेरै माया लाग्छ ।’
प्रतिक्रिया 4